अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्फ्यु उल्लंघनपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन

कर्फ्यु उल्लंघनपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन


सुनसरी-सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा जारी कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी तथा तोडफोडका घटना भएपछि स्थानीय प्रशासनले नेपाली सेना परिचालन गरेको छ। हतियारसहित सेनाको टोली खटिएपछि उक्त क्षेत्रको सुरक्षा अवस्था नियन्त्रणमा आएको प्रशासनले जनाएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार सोमबार बिहानदेखि कर्फ्यु लागू गरिए पनि प्रदर्शनकारीहरूले निषेध आदेशको अवज्ञा गर्दै प्रदर्शन जारी राखेका थिए। स्थिति थप तनावपूर्ण बन्दै गएपछि नेपाली सेना परिचालन गरिएको हो। सेनाको उपस्थितिपछि अवस्था नियन्त्रणमा आएको र सुरक्षा व्यवस्था थप कडा बनाइएको उनले बताए।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले पनि क्षेत्रको अवस्था सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिए। कर्फ्यु लागू रहेकै अवस्थामा विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा निकाय उच्च सतर्कतामा रहेको जनाइएको छ।

कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रशासनले जनाएको छ।

यसैगरी, झडपका क्रममा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि जिल्लाका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। तर कर्फ्यु उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पालना गर्न तथा अफवाहमा नलाग्न आग्रह गरेको छ।

Skip This