काठमाडौं-सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तलब तालिकाअनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकहरूको पारिश्रमिक वृद्धि गरिएको छ।
नयाँ व्यवस्था अनुसार माध्यमिक तहका शिक्षकहरूले सबैभन्दा बढी तलब पाउने भएका छन्। माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको मासिक तलब ६० हजार ८७४ रुपैयाँ कायम गरिएको छ भने द्वितीय श्रेणीका शिक्षकले ६७ हजार ९०७ रुपैयाँ र प्रथम श्रेणीका वरिष्ठ शिक्षकले ७४ हजार ९५८ रुपैयाँ मासिक तलब पाउनेछन्।
त्यस्तै, निम्न माध्यमिक (निमावि) तहका शिक्षकहरूमध्ये तृतीय श्रेणीका शिक्षकको तलब ४८ हजार ३८७ रुपैयाँ तोकिएको छ। यस्तै, द्वितीय श्रेणीका शिक्षकले ६० हजार ८७४ रुपैयाँ र प्रथम श्रेणीका शिक्षकले ६३ हजार ९०४ रुपैयाँ मासिक तलब पाउने व्यवस्था गरिएको छ।
यसैगरी, प्राथमिक तहका शिक्षकहरूको तलब पनि वृद्धि गरिएको छ। एसएलसी उत्तीर्ण तृतीय श्रेणीका शिक्षकको तलब ४३ हजार ४२८ रुपैयाँ, द्वितीय श्रेणीको ४८ हजार ३८७ रुपैयाँ र प्रथम श्रेणीको ६० हजार ८७४ रुपैयाँ कायम गरिएको छ। यस्तै, दुई विषयभन्दा बढीमा एसएलसी अनुत्तीर्ण शिक्षकको मासिक तलब ३४ हजार ४२६ रुपैयाँ तथा दुई विषयसम्म अनुत्तीर्ण शिक्षकको तलब ३६ हजार ४४५ रुपैयाँ तोकिएको छ।
सरकारले नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुने गरी निर्धारण गरेको जनाएको छ। मन्त्रालयका अनुसार शिक्षकहरूले निजामती कर्मचारीसरह ग्रेड रकमका साथै वृद्धिपश्चात् कायम हुने तलबको थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि प्राप्त गर्नेछन्।
यद्यपि शिक्षा क्षेत्रमा योग्यतासम्बन्धी बहस कायमै छ। सरकारी नीतिका कारण एसएससी/एसएलसी अनुत्तीर्ण शिक्षकहरू समेत अझै प्राथमिक तहमा अध्यापनरत रहेको तथ्यले शिक्षा क्षेत्रको गुणस्तर र शिक्षक व्यवस्थापनबारे पुनः प्रश्न उठाएको छ।



प्रतिक्रिया