काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा-१२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले २०८३ साउन २ र ३ गते सञ्चालन भएको परीक्षाको नतिजा बिहीबार राति प्रकाशित गरेको हो।
बोर्डका अनुसार परीक्षामा सहभागी कुल ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जना (८१.१९ प्रतिशत)ले सबै विषयमा ग्रेड प्राप्त गर्दै सफलता हासिल गरेका छन्। साथै, तीन जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार परीक्षाफल सम्बन्धी जानकारी बोर्डको वेबसाइट, एसएमएस सेवा तथा आईभीआर (IVR) सेवामार्फत प्राप्त गर्न सकिनेछ।
नतिजाप्रति चित्त नबुझी पुनर्योग (Re-totaling) गराउन चाहने परीक्षार्थीले २०८३ साउन २४ गते बिहान ९ बजेदेखि साउन ३० गते साँझ ५ बजेसम्म प्रतिविषय एक हजार रुपैयाँ दस्तुर तिरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
त्यस्तै, परीक्षामा सहभागी भई प्रत्येक विषयमा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको १० दिनपछि तोकिएको दस्तुर बुझाएर ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ।
बोर्डका अनुसार नतिजामा कुनै प्राविधिक त्रुटि वा विवरण फरक परेको अवस्थामा नतिजा प्रकाशन भएको छ महिनाभित्र आवश्यक कागजातसहित आवेदन दिई सच्याउन सकिने व्यवस्था गरिएको छ।



प्रतिक्रिया