अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

कोशी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले राजीनामा दिँदै


विराटनगर-कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिने भएका छन्। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार दलका नेता उद्धव थापाले मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिएका छन् र सोहीअनुसार उनीहरूले पदबाट बाहिरिने तयारी गरेका छन्।

राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू तथा भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।

यसैबीच, कांग्रेसका मन्त्रीहरूलाई धन्यवाद तथा बिदाइ गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो साढे ३ बजे बैठक बस्ने तय भएको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले कांग्रेसका मन्त्रीहरूले भोलि बिहानसम्ममा राजीनामा दिने जानकारी प्राप्त भएको बताए।

केन्द्रमा नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच साउन दोस्रो साता भएको तीनबुँदे राजनीतिक सहमतिपछि नेपाली कांग्रेस प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो। यसअघि कांग्रेस र एमालेबीचको सहमतिअनुसार दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा २०८२ पुस २२ गते कांग्रेसका तर्फबाट यी मन्त्रीहरू सरकारमा सहभागी भएका थिए।

कांग्रेसका मन्त्रीहरूको बहिर्गमनसँगै कोशी प्रदेश सरकारको नयाँ राजनीतिक समीकरण र मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।