अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शङ्कर पोखरेलको प्रश्न: ‘हिजो देखाइएका समस्या आज पनि समाधान भएनन्, दोष कसलाई दिने ?’

शङ्कर पोखरेलको प्रश्न: ‘हिजो देखाइएका समस्या आज पनि समाधान भएनन्, दोष कसलाई दिने ?’


काठमाडौं-नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले हिजो चर्को स्वरमा उठाइएका जनताका समस्याको जवाफ आजको अवस्थाले खोजिरहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सडकका खाल्डा, सार्वजनिक सेवामा लामो लाइन, मलको अभाव र रोजगारीका लागि विदेशिने युवाको लर्कोलगायतका समस्या देखाएर नेतृत्व परिवर्तनको हुटहुटी देखाइए पनि सत्तामा पुगेपछि न्यूनतम कार्यक्षमतासमेत देखाउन नसकिएको टिप्पणी गरेका छन्।

महासचिव पोखरेलले हिजो जुन समस्या देखाएर नेतृत्व परिवर्तन गर्न खोजिएको थियो, ती दैनिक समस्या अहिले पनि समाधान नभएको बताएका छन्। उल्टै भूराजनीतिक असन्तुलन र असुरक्षा बढ्दै गएको, साम्प्रदायिक तथा धार्मिक सद्भाव खलबलिँदै गएको र चरम निराशा तथा मानसिक तनाव बढिरहेको उनको भनाइ छ।

महासचिव पोखरेलले ‘सडकका खाल्डा पुर्न नसक्नेले ठूला सपना बाँड्ने ? सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने र एयरपोर्टमा युवाको लर्को लाग्ने अवस्थामा विकासका गफ दिने ?’ भन्दै हिजो उठाइएका प्रश्न स्मरण गराएका छन्।

महासचिव पोखरेलले आज न ती दैनिक समस्या समाधान भएको न भविष्यप्रतिको आशा नै जोगिन सकेको दाबी गर्दै हिजो जुन समस्या देखाएर नेतृत्व बदल्ने हुटहुटी देखाइएको थियो, आज सत्तामा पुगेपछि न्यूनतम कार्यक्षमता किन देखिएन भन्ने प्रश्न गरेका छन्।

‘अब अरूलाई दोष थोपरेर उम्किने छुट कसैलाई छैन,’ महासचिव पोखरेलले भनेका छन्।

देशको सुधारका लागि उनले चारवटा विषयमा जोड दिएका छन्। पहिलो, देश आर्थिक रूपमा सबल नभई आधारभूत समस्या पूर्ण रूपमा समाधान नहुने यथार्थ स्वीकार गर्दै इमानदार पहलकदमी लिनुपर्ने उनको सुझाव छ।

त्यस्तै, दैनिक समस्याको गाँठो फुकाउँदै विकास र समृद्धिका दीर्घकालीन योजना सँगसँगै अघि बढाउनुपर्ने, संकटमा एक्लै हिँड्ने हठ त्यागेर सहमति र सहकार्यको राजनीतिमा फर्किनुपर्ने तथा प्रशासनिक र सुरक्षा निकायलाई विश्वासमा लिएर संविधान र कानुनको पालना एवं सुधारमा जोड दिनुपर्ने उनले बताएका छन्।

महासचिव पोखरेलका अनुसार यी विषयलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सके सडकबाट सरकार बदल्नुपर्ने नियति दोहोरिनबाट रोक्न सकिनेछ।

एमाले महासचिव शङ्कर पाेखरेलकाे भनाइ जस्ताकाे तस्तै

हिजोको आक्रोस, आजको यथार्थ र निकासको बाटो : दोष कसलाई दिने ?
हिजो निकै चर्को स्वरमा प्रश्नहरू उठाइएका थिए- ‘सडकका खाल्डा पुर्न नसक्नेले ठूला सपना बाँड्ने ? सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने र एयरपोर्टमा युवाको लर्को लाग्ने अवस्थामा विकासका गफ दिने ?’ तर आज न ती दैनिक समस्या हल भए, न भविष्यप्रतिको आशा नै जोगियो ।

उल्टै:
⚬ भूराजनीतिक असन्तुलन र असुरक्षा चुलिँदै छ।
⚬ साम्प्रदायिक र धार्मिक सद्भाव खलबलिँदो छ।
⚬ चरम निराशा र मानसिक तनाव बढ्दो छ।

हिजो जुन समस्या देखाएर नेतृत्व बदल्ने हुटहुटी देखाइयो, आज सत्तामा पुग्दा न्यूनतम कार्यक्षमता किन देखिएन ? अब अरूलाई दोष थोपरेर उम्किने छुट कसैलाई छैन ।

सुधारका लागि अब यसो गरियोस्:
⚬ देश आर्थिक रूपमा सबल नभई आधारभूत समस्या पूर्ण समाधान हुँदैनन् भन्ने यथार्थ स्वीकार गरी इमानदार पहलकदमी लिइयोस् ।
⚬ दैनिक समस्याको गाँठो फुकाउँदै विकास र समृद्धिका दीर्घकालीन योजना सँगसँगै अघि बढाइयोस् ।
⚬ संकटमा एक्लै हिँड्ने हठ त्याग गरी सहमति र सहकार्यको राजनीतिमा फर्कियोस् ।
⚬ प्रशासनिक र सुरक्षा निकायलाई विश्वासमा लिई संविधान तथा कानुनको पालना र सुधारमा जोड दिइयोस् ।
यति गर्नसके सडकबाट सरकार बदल्नुपर्ने नियति दोहोरिने छैन ।