काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतना कमजोर हुँदै जाँदा राजनीति र समाजमा समेत विकृति बढेको बताएका छन्।
सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंस तथा स्वार्थको प्रवृत्ति बढ्दै गएको बताएका हुन्।
उनले संसद् भवन निर्माण गर्नुभन्दा आगो लगाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुभन्दा नष्ट गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । विकासका संरचना भत्काउने, झुट बोल्ने तथा राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गर्ने प्रवृत्ति बढ्नु चिन्ताजनक भएको उनको भनाइ थियो ।
ओलीले आफू नेतृत्वको सरकारले विभिन्न स्थानमा ठूला सभाहल, रङ्गशाला तथा अन्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको दाबी गर्दै निर्माण र विकासको संस्कृतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
‘आज राजनीति र समाजमा देखिएको विकृतिको एउटा कारण हाम्रो सांस्कृतिक र नैतिक चेतनामा आएको ह्रास पनि हो’, उनले भने, ‘मानिसको मनमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंस र स्वार्थको भावना बढ्दै गएको देखिन्छ।’
समाजमा सकारात्मक सांस्कृतिक भावना र नैतिक चेतनाको विकास हुन नसके राजनीतिक तथा सामाजिक विकृति पनि अन्त्य हुन नसक्ने उनको भनाइ थियो ।






प्रतिक्रिया