पोखरा-पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको अध्ययन सुरु गर्ने भएको छ।
विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयमा पीएचडी अध्ययनका लागि आवेदन आह्वान गरेको हो।
विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारलाई पीएचडी कार्यक्रममा सहभागी हुन आवेदन दिन आग्रह गरेको छ।
विश्वविद्यालयका अनुसार इच्छुक उम्मेदवारले २०८३ भदौ ९ गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन्। पीएचडी प्रवेश परीक्षा २०८३ भदौ १२ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा सञ्चालन हुनेछ।
प्रवेश परीक्षापछि हुने व्यक्तिगत अन्तर्वार्ताको मिति प्रवेश परीक्षा भएकै दिन घोषणा गरिने विश्वविद्यालयले जनाएको छ।
पीएचडी कार्यक्रममा आवेदन दिन रु. ३ हजार आवेदन शुल्क तोकिएको छ। इच्छुक उम्मेदवारले पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सक्नेछन्।
इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी तहको अध्ययन सुरु गर्न लागेसँगै पोखरा विश्वविद्यालयको अनुसन्धान तथा उच्च शिक्षाको दायरा थप विस्तार हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया