काठमाडौं-खाना पकाउने ग्यासको अभावका कारण विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
नेविसंघले विद्यार्थीको समस्या तत्काल समाधान गर्न माग गर्दै मंगलबार त्रिचन्द्र क्याम्पसमा खाली ग्यास सिलिन्डर बोकेर विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ग्यास अभावका कारण दैनिक जीवनसँगै अध्ययनसमेत प्रभावित भएको भन्दै सरकारको व्यवस्थापनप्रति प्रश्न उठाएका थिए । उनीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न र विद्यार्थीले भोग्दै आएको समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।
प्रदर्शनकारीले ‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?’, ‘चुलो निभ्यो पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’, ‘ग्यासको समस्या समाधान गर’ र ‘विद्यार्थीको समस्या समाधान गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
नेविसंघले ग्यासको अभावले विद्यार्थी तथा सर्वसाधारणलाई लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । साथै, तत्काल ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।


प्रतिक्रिया