काठमाडौं-चीनतर्फ हिमपहिरो गएर नदी थुनिएपछि बनेको ताल अझै पूर्ण रूपमा नखुलेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको जनाएको छ। प्राधिकरणले अर्को सूचना जारी नभएसम्म नदी आसपासका क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्राधिकरणका अनुसार बुधबार दिउँसो १ः३५ बजे चिनियाँ अधिकारीहरूले पठाएको सूचनामा नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको उल्लेख गरिएको छ। तालमा जम्मा भएको पानीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम कायम रहेको जनाइएको छ।
नेपाल बाढी सूचना केन्द्र र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा जारी गरेको सूचनामा नदीको बहावमा हुन सक्ने उतारचढावका कारण तल्लो तटीय क्षेत्रमा थप जोखिम सिर्जना हुन सक्ने चेतावनी दिइएको छ। त्यसैले नदी किनार तथा आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ।
यसअघि चीनतर्फ गएको हिमपहिरोका कारण आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा व्यापक क्षति पुर्याएको थियो। बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुर्याउनुका साथै मानवीय क्षति समेत भएको छ। जोखिम अझै नटरेकाले सम्बन्धित निकायहरूले उद्धार, राहत तथा निगरानी कार्यलाई निरन्तरता दिएका छन्।


प्रतिक्रिया