अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढी: बागमती प्रदेश सरकारद्वारा राहत र पुनर्निर्माणलाई तीव्रता

भोटेकोशी बाढी: बागमती प्रदेश सरकारद्वारा राहत र पुनर्निर्माणलाई तीव्रता


मकवानपुरगढी-भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि बागमती प्रदेश सरकारले उद्धार, राहत तथा पुनर्निर्माणको कामलाई तीव्रता दिने भएको छ।

बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणसम्बन्धी तत्कालीन र दीर्घकालीन योजना अघि बढाउन मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा सर्वदलीय बैठक सम्पन्न भएको छ।

बैठकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी थिए।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया भने भर्चुअल माध्यमबाट सहभागी भएका थिए।

बैठकले अत्यधिक प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनमा तत्काल अस्थायी आवास, खाद्यान्न तथा अत्यावश्यक सामग्री निर्वाध उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै, बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका सडक तथा पैदलमार्ग शीघ्र सञ्चालनमा ल्याउन र आवश्यक स्थानमा बेलिब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणको प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ।

प्रदेश सरकारले उद्धार र राहतका तत्कालीन कामसँगै भविष्यमा हुनसक्ने विपत् जोखिम न्यूनीकरणका लागि दिगो पुनर्निर्माण योजना समेत अघि बढाउने जनाएको छ।

यसैबीच, भोटेकोशीको बाढीपछि मकवानपुरका ६१ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् भने यसअघि सम्पर्कविहीन भनिएकामध्ये छ जना भने आफन्तको सम्पर्कमा आएका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा हेटौंडाका २३, थाहाका १९, मनहरीका पाँच, भीमफेदीका तीन, अन्य स्थानीय तहका चार र ठेगाना नखुलेका सात जना रहेका छन् । सुरुङभित्र फसेका अन्य छ जनाको भने सफल उद्धार गरिएको छ ।

बाढीमा परी ज्यान गुमाएका मकवानपुरका पाँच जनाको सनाखत भइसकेको छ । सनाखत हुनेमा सुमन गोले, उद्धव खड्का, विकास गोले, रमेश मगर र रमेश आलेमगर रहेका छन् ।

राहत, उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले रसुवा र नुवाकोटस्थित आफ्ना मातहतका प्रादेशिक कार्यालयहरू सार्वजनिक बिदाका दिनमा समेत खुला राख्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले परिपत्र जारी गर्दै अर्को सूचना नभएसम्म कर्मचारीहरूलाई निरन्तर परिचालनमा रहन भनेको छ ।