काठमाडौं-भारतीय बलिउड अभिनेता तथा समाजसेवी सोनु सूद नेपाल आइपुगेका छन्। २०८३ भदौ १० गते रसुवाको भाेटेकाेशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूलाई राहत सामग्री उपलब्ध गराउने उद्देश्यले उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।
नेपालमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको समाचार सार्वजनिक भएलगत्तै सोनु सूदले सामाजिक सञ्जालमार्फत नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए। उनले आफ्नो सन्देशमा लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौँ।’

सूदले बाढी तथा डुबानबाट प्रभावित परिवारका लागि राहत सामग्री वितरण, अस्थायी आश्रय व्यवस्थापन तथा पुनर्निर्माण अभियानमा सहयोग पुर्याउने उद्देश्यले नेपाल भ्रमण गरेको जनाइएको छ। उनीसँगै विभिन्न राहत सामग्री पनि नेपाल ल्याइएको बताइएको छ।
कोभिड-१९ महामारीका बेला भारतमा हजारौँ श्रमिक तथा विपद्मा परेका नागरिकलाई सहयोग गरेर चर्चामा आएका सोनु सूदले नेपालमा पनि मानवीय सहयोग अभियानलाई निरन्तरता दिएका हुन्। बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन उनको आगमनलाई सकारात्मक रूपमा हेरिएको छ।


प्रतिक्रिया