अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डको प्रधानमन्त्रीलाई कटाक्ष: ‘सोसल मिडियाको पोस्टले संकट समाधान हुँदैन’

प्रचण्डको प्रधानमन्त्रीलाई कटाक्ष: ‘सोसल मिडियाको पोस्टले संकट समाधान हुँदैन’


काठमाडौं-नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाउँदै संसद् र सबै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै नेता प्रचण्डले प्रधानमन्त्रीले भोटेकोशी बाढीपछिको अवस्थाबारे संसद्‌लाई जानकारी दिएकोमा धन्यवाद दिँदै संकटका बेला सबैलाई साथमा लिएर नेतृत्व गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीले प्रतिपक्ष मात्र होइन, आफ्नै दलका सांसदहरूलाई समेत पर्याप्त रूपमा विश्वासमा लिन नसकेको टिप्पणी गरे।

‘प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा आउनुभयो, केही ब्रिफिङ गर्नुभयो, त्यसका लागि उहाँलाई धन्यवाद। तर अरूलाई पनि विश्वासमा लिनुपर्थ्यो। संसद्‌लाई विश्वासमा लिनु भनेको प्रतिपक्षलाई मात्र होइन। कार्यशैलीले आफ्नै सांसदलाई पनि विश्वासमा लिने प्रयास भएको मैले देख्दिनँ,’ नेता प्रचण्डले भने।

नेता प्रचण्डले प्रधानमन्त्री संसद्‌मा आएर कसैसँग संवाद नगरी फर्किने गरेको भन्दै असन्तुष्टि जनाए। ‘प्रधानमन्त्री त हामी सबैको हो। हामी सबैले सहयोग गर्छौं भनिरहेका छौं। तर कसैको अनुहारसमेत नहेरी जाने तरिका उचित होइन,’ नेता प्रचण्डले भने।

उनले प्रधानमन्त्री शाहलाई अहिले देशको नेतृत्व गर्ने ठूलो अवसर प्राप्त भएको उल्लेख गर्दै त्यो अवसर गुमाउन नहुने बताए। देशले अहिले लामो भाषणभन्दा प्रभावकारी नेतृत्व खोजिरहेको उनको भनाइ थियो।

‘देशले नेतृत्व खोजेको छ, आश्वासन होइन। जनताले हरेक ठाउँमा सरकारको उपस्थिति खोजेका छन्। सोसल मिडियामा पोस्ट गरेर चुनाव जित्न सकिएला, तर यसले अहिलेको संकट समाधान हुँदैन,’ नेता प्रचण्डले भने।

उनले वर्तमान संकटको सामना गर्न राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै सबै राजनीतिक शक्ति र नागरिकलाई एकताबद्ध राख्ने जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा रहेको बताए।

‘संकटमा राज्य देखियोस्, विपत्तिमा राष्ट्र एकजुट देखियोस्। अहिले तपाईंहरूको नेता प्रधानमन्त्री हाम्रो पनि प्रधानमन्त्री हो। उहाँले गम्भीर भएर सबैको विश्वास जित्न सक्नुभएन भने समयले उहाँलाई पनि पर्खिने छैन,’ उनले चेतावनी दिए।