अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी संकट समाधान गर्न एमालेले दियो सरकारलाई ८ सुझाव

भोटेकोशी संकट समाधान गर्न एमालेले दियो सरकारलाई ८ सुझाव


काठमाडौं-नेकपा एमालेले भोटेकोशी बाढीबाट सिर्जित संकटको सामना गर्न सरकारलाई ८ बुँदे सुझाव दिएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न ठोस प्रस्ताव अघि सारेका हुन्।

सदनलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीले काम गर्ने एकाङ्गी शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने र संसद्प्रति पूर्ण रूपमा उत्तरदायी बन्नुपर्नेमा जोड दिए। सरकारले आफ्ना योजना, निर्णय र प्रगतिबारे संसद्लाई नियमित रूपमा जानकारी गराउनुपर्ने उनको भनाइ थियो।

एमालेले सरकारलाई दिएको सुझावमा राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय तथा सर्वदलीय संयन्त्र निर्माणदेखि खोज, उद्धार तथा राहतका लागि युनिफाइड स्पेसल टास्कफोर्स गठन गर्नेसम्मका विषय समेटिएका छन्।

एमालेका ८ सुझाव यस्ता छन् :

१. प्रधानमन्त्रीको कार्यशैलीमा सुधार र उत्तरदायित्व
प्रधानमन्त्रीले एकाङ्गी शैली त्यागेर संसद्प्रति पूर्ण उत्तरदायी बन्नुपर्ने तथा सरकारका योजना र प्रगतिबारे सदनलाई नियमित जानकारी गराउनुपर्ने।

२. सर्वपक्षीय संयन्त्र निर्माण
राष्ट्रिय सहमतिबाट मात्र संकटको सामना गर्न सकिने भएकाले राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय तथा सर्वदलीय संयन्त्र बनाउन पहल गर्नुपर्ने।

३. विशेष संसदीय समिति गठन
विपद् व्यवस्थापनमा सरकारलाई आवश्यक सुझाव, निगरानी र सहयोग पुर्‍याउन सभामुखको पहलमा विशेष संसदीय समिति गठन गर्नुपर्ने।

४. अन्तर्राष्ट्रिय समन्वय कार्यदल गठन
अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वयका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने।

५. युनिफाइड स्पेसल टास्कफोर्स गठन
खोज, उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा सञ्चालन गर्न रक्षामन्त्रीको नेतृत्वमा युनिफाइड स्पेसल टास्कफोर्स गठन गर्नुपर्ने।

६. पुनर्निर्माण कार्यदल गठन
बाढीबाट ध्वस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गरी तत्काल काम अघि बढाउनुपर्ने।

७. सगरमाथा संवादको दोस्रो संस्करण सुरु गर्नुपर्ने
जलवायु परिवर्तनबाट उत्पन्न संकटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउन र आवश्यक रणनीति तय गर्न सगरमाथा संवादको दोस्रो संस्करण तत्काल सुरु गर्नुपर्ने।

८. सामूहिक र सङ्गठित प्रयास

विपद्को यो घडीमा छरिएर नभई सामूहिक र सङ्गठित प्रयासबाट मात्रै संकटको सामना गर्न सकिने भएकाले सोहीअनुसार सरकारी तत्परता बढाउनुपर्ने।

नेता थापाले सामूहिक शक्तिबाट मात्रै भोटेकोशी बाढीबाट सिर्जित महाविपत्तिलाई परास्त गर्न सकिने बताए। एमालेले अघि सारेका सुझावलाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय संकटको समयमा प्रतिपक्ष सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको स्पष्ट पारे।