विराटनगर-नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच कोशी प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा केन्द्रमा भएको तीनबुँदे सहमतिअनुसार प्रदेश सरकार सञ्चालनका लागि ‘न्यूनतम साझा कार्यक्रम–२०८३’ तयार गरी सार्वजनिक गरिएको छ। उक्त कार्यक्रम नेपाली कम्युनिस्ट पार्टी संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा गठित कार्यदलले आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरेको हो।
२८ बुँदे न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रममा सुशासन प्रवर्द्धन, अन्तरसरकारी समन्वय सुदृढीकरण, वित्तीय अनुशासन कायम गर्ने, पूँजीगत खर्च वृद्धि गर्ने तथा प्रदेशको विकासलाई तीव्रता दिने विषयलाई प्राथमिकतामा राखिएको छ।
साझा कार्यक्रमअन्तर्गत लगानी सम्मेलनबाट प्राप्त प्रतिबद्धताको कार्यान्वयन, पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार क्षेत्रमा निजी लगानी विस्तार, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। साथै प्रत्येक जिल्लाका प्रदेश अस्पताललाई न्यूनतम ५० शैयामा स्तरोन्नति गर्ने, धनकुटा प्रदेश अस्पताललाई शिक्षण अस्पताल तथा मेची प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने नीति पनि समेटिएको छ।
यस्तै युवा स्वरोजगार, सामूहिक कृषि, रणनीतिक सडक निर्माण, पर्यटन प्रवर्द्धन, डिजिटल सुशासन, सूचना प्रविधिमार्फत रोजगारी सिर्जना तथा प्रदेश सरकारका स्थायी संरचना निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।
कार्यदलले प्रस्तुत गरेको न्यूनतम साझा कार्यक्रममार्फत एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रदेश सरकारलाई स्थिर, उत्तरदायी र विकासमुखी बनाउँदै जनअपेक्षाअनुसार परिणाम दिन संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया