काठमाडौं-भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षाका लागि सरकारले घोषणा गरेको करिब १ अर्ब रुपैयाँको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यान्वयन गर्न कार्यविधि तयार गरिने भएको छ।
योजनाका लागि आवश्यक रकम शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकबाट रकमान्तर गर्ने तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट समेत व्यवस्थापन गर्न सकिने विषयमा छलफल भइरहेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सहप्रवक्ता वीरबहादुर धामीका अनुसार उक्त रकम ससर्त अनुदानका रूपमा मुख्यतः स्थानीय तहमार्फत परिचालन गरिनेछ । केही रकम प्रदेश तथा सङ्घीय कार्यालयमार्फत समेत खर्च गर्ने गरी योजना अघि बढाइनेछ ।
उनका अनुसार योजना विशेषगरी बाढीबाट अतिप्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा केन्द्रित हुनेछ । आवश्यकताको सही आकलन (निड एसेसमेन्ट) तथा प्रमाणीकरणका आधारमा लक्षित विद्यार्थी र विद्यालयलाई सहयोग उपलब्ध गराइनेछ ।
सरकारले छुट्याउने रकम विद्यार्थीलाई नगद वा प्रत्यक्ष छात्रवृत्ति वितरणमा मात्र सीमित रहने छैन । प्रभावित बालबालिकाको समग्र सिकाइ प्रक्रिया निरन्तरता, शैक्षिक सामग्री, आवासीय सुविधा तथा विद्यालय पुनर्निर्माणलगायत शिक्षासँग सम्बन्धित विभिन्न क्षेत्रमा रकम खर्च गरिने मन्त्रालयले जनाएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन सरकारले करिब १ अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको थियो ।
प्रारम्भिक विवरणअनुसार बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट १६ जना शिक्षक र २१७ जना विद्यार्थी सम्पर्कविहीन रहेको तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको विवरणमा उल्लेख छ ।


प्रतिक्रिया