काठमाडौँ-काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैँलाई आगो लगाएर घाइते भएकी लक्ष्मीदेवी बस्नेतको आज शल्यक्रिया गरिने भएको छ।
३० वर्षीया बस्नेतलाई प्राथमिक उपचारका लागि वीर अस्पताल लगिएको थियो। परिवारको इच्छाअनुसार मंगलबार राति नै उनलाई वीर अस्पतालबाट कीर्तिपुर बर्न अस्पतालमा सारिएको हो।
वीर अस्पतालका वरिष्ठ प्लास्टिक तथा बर्न सर्जन डा. पीयूष दाहालका अनुसार बस्नेतको शरीरको करिब २५ देखि ३० प्रतिशत भाग जलेको छ।
कीर्तिपुर बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले उनको आज शल्यक्रिया गर्न लागिएको जानकारी दिए। उनका अनुसार बस्नेतको अवस्था अझै ‘क्रिटिकल’ रहेको छ।
गोरखा घर भई काठमाडौँ बस्दै आएकी बस्नेतले मंगलबार साँझ करिब साढे ६ बजे माइतीघरमा प्रज्वलनशील पदार्थ खन्याएर आफैँलाई आगो लगाएकी थिइन्।
जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा माइतीघरमा दीप प्रज्वलन भइरहेका बेला उनले आफैँलाई आगो लगाएको देखेपछि प्रहरीले तत्काल आगो निभाएर उनलाई अस्पताल पुर्याएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाले बताए।
बस्नेत बोल्न सक्ने अवस्थामा नरहेकाले उनले किन यस्तो कदम चालिन् भन्नेबारे तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया