सुनसरी-अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार शुक्रबार दिउँसो २ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको हो।
यसअघि बिहान १० बजे पानीको बहाव १ लाख ९८ हजार २२० क्युसेक हुँदा २५ वटा ढोका खोलिएका थिए। दिउँसो १ बजे बहाव बढेर २ लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो।
कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि जोखिमको संकेतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने व्यवस्था रहेको खड्काले बताए।
नदीमा जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न समेत आग्रह गरेको छ।
लगातार वर्षा भइरहेकाले नदीमा पानीको बहाव अझै बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका रहेका छन्।



प्रतिक्रिया