काठमाडौं-नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो भन्ने कुरा स्पष्ट पार्न माग गरेका छन्। पार्टी केन्द्रीय कमिटी बैठकमा आज आफ्ना धारणा राख्दै रिजालले सो माग गरेका हुन्।
रिजालले नेपाली सेनाप्रति नेकपा (एमाले)को दृष्टिकोण के हो भन्ने प्रश्न गर्दै पार्टीको निशाना सेना नै हो जस्तो गरी संसदमा बारम्बार प्रस्तुत हुनुले थप संशय सृजना गरेको बताएका छन्। ‘अध्यक्ष स्वयमले भन्नुभएको छ– पाँच मिनेट ढिलो भएको भएर लागू पदार्थ खुवाएर ल्याएकाहरूले मलाई बालुवाटारमै मार्ने थिए। राधिका शाक्यको पनि अस्ति त्यस्तै धारणा सार्वजनिक भएको छ। भदौ २३-२४ मा सेनाको भूमिकाबारे कैयौँ अनुत्तरित प्रश्न छन्,’ रिजालले भने ‘सेनाले हाम्रो नेतृत्वको सुरक्षा र सहजीकरण गरेको छ। एमालेको आजको मुख्य निशाना नेपाली सेना नै हो जस्तो गरेर संसद्मा बारम्बार प्रस्तुत हुनुले पार्टी कै दृष्टिकोण त्यही हो कि भन्ने भ्रम उत्पन्न भएको छ र राज्यको स्थायी संरचनासँग हाम्रो टकराब बढाएको छ। यसका बारेमा पार्टीले स्पष्ट पार्नुपर्छ।’
रिजालले पार्टी अध्यक्षको प्रतिवेदनप्रति समर्थन गर्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको थप व्याख्याबाट मुख्य नेताहरू बीच रहेको अविश्वासको कालो सेतो बादल पनि हटेको रिजालको धारणा छ। ‘अध्यक्ष कमरेडको प्रतिवेदनले आफ्ना कमजोरी केलाएको छ। अध्यक्ष स्वयम्ले निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिएर अब के गरेर जार्नुपर्छ भन्ने मार्गचित्र प्रस्तुत गर्नुभएको छ,’ रिजालले भने ‘यसमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल गरेको व्याख्याबाट पार्टीका मुख्य नेताहरूका बिचमा खडा भएको अविश्वासको कालो–सेतो सबै खालको बादल बिलाएर गएको छ। म समर्थन गर्दछु। ’रिजालले वमपन्थी एकताका लागि तत्काल पहल लिन पनि पार्टीलाई सुझाव दिएका छन्। एमालेको नीति र नेतृत्वमा वामपन्थी एकता भए पुन कम्युनिस्ट आन्दोलन जागृत हुन सक्ने उनले बताए। ‘समग्र कम्युनिस्ट आन्दोलनको पुनः गठनका लागि गम्भीरतापूर्वक बहस हुनुपर्छ। आजकै नारा, सिद्धान्त, रणनीति, कार्यनीति, कार्यशैली र सरकारदेखि सरकारसम्मको गोल चक्करप्रति नयाँ पुस्ता कत्ति पनि आकर्षित छैन’ रिजालले भने ‘सापेक्षतामा हेरेर हिजो मदन भण्डारीले अनेक आरोप खेपेर चाले जस्तै साहसिक कदम आवश्यक छ। यसले फेरि एक कालखण्डका लागि हामीलाई पुनः जीवन दिनेछ।’
रिजालले पार्टीको प्रचारलाई प्रभावकारी बनाउन फिजिकल हैन डिजिटल संयन्त्र बनाउनु पर्ने बताएका छन्। उनले पार्टी केन्द्रमा अलग्गै डिजिटल विभाग बनाएर चौबिसै घण्टा नयाँ माध्यमबाट प्रचार गर्नुपर्ने बताए। पार्टीमा नयाँ पुस्ताको आकर्षण जरुरी रहेको रिजालको भनाइ छ। नयाँ पुस्ताको पार्टीप्रति घटेको आकर्षणका बारेमा चिन्ता गर्दै रिजालले भने ‘पार्टीको पूर्णकालीन सदस्य हुने कतै मेरो पुस्ता नै अन्तिम हुने त होइन ? यस विषयमा गम्भीर हुन पार्टीका सबै तप्कालाई आग्रह गर्दछु।’



प्रतिक्रिया