अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारूढ दलकै सांसद खत्रीको प्रश्न- ‘पूर्वप्रधानन्यायाधीश जबरामाथिको सुरक्षा खतरा कसरी टर्‍यो, पत्तै पाइएन’

सत्तारूढ दलकै सांसद खत्रीको प्रश्न- ‘पूर्वप्रधानन्यायाधीश जबरामाथिको सुरक्षा खतरा कसरी टर्‍यो, पत्तै पाइएन’


काठमाडौं-पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद राजीव खत्रीले प्रश्न उठाएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘सुरक्षा थ्रेट’ रहेको भन्दै शनिबार राति महाराजगन्जस्थित निवासबाट जबरालाई नियन्त्रणमा लिएको थियो। करिब ११ घण्टा नियन्त्रणमा राखिएपछि उनलाई आइतबार दिउँसो २ बजे रिहा गरिएको थियो।

जबरालाई पक्राउ गर्नुको स्पष्ट कारण र उनीमाथि कसबाट सुरक्षा खतरा थियो भन्नेबारे प्रहरीले सार्वजनिक रूपमा जानकारी नदिएको भन्दै सांसद खत्रीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका हुन्।

सांसद खत्री लेखेका छन्, ‘चोलेन्द्र पक्राउबारे प्रहरीले भन्यो– सुरक्षा थ्रेट ! तर पक्राउको कारण गोप्य राखेर छोडियो भनियो। चोलेन्द्रमाथिको सुरक्षा खतरा कसरी टर्‍यो पत्तै पाइएन।’

सांसद खत्रीले जबरालाई पक्राउ गर्ने शैलीप्रति समेत आपत्ति जनाएका छन्। कुनै नागरिकले असुरक्षा महसुस गरे राज्यले सुरक्षाको प्रत्याभूति गराउनुपर्ने भए पनि प्रहरीले जसरी घरबाट नियन्त्रणमा लियो, त्यो शैली उचित नभएको उनको भनाइ छ।

खत्रीले लेखेका छन्, ‘कुनै नागरिकले असुरक्षा महसुस गरे सुरक्षाको प्रत्याभूति गराउने काम राज्यको हो। तर प्रहरीले जसरी अपहरणको शैलीमा घरबाट उठायो, यो तरिका सही भएन।’

उनले यसअघि रास्वपा सभापति रवि लामिछानेमाथि गरिएको भनिएको ‘अपहरणको शैली’को गिरफ्तारीप्रति पनि असन्तुष्टि जनाउँदै जबराको घटनामा पनि त्यही शैली दोहोरिएको टिप्पणी गरेका छन्।

जबराका विगतका कामकारबाहीबारे प्रश्न उठाउन सकिने बताउँदै खत्रीले कानुन उल्लंघन भएको भए कानुनी प्रक्रियाअनुसार कारबाही हुनुपर्ने धारणा राखेका छन्। तर पक्राउ पुर्जीसमेत नदिई मध्यरातमा पक्राउ गर्नु गलत भएको उनको भनाइ छ।

‘चोलेन्द्रका कर्मलाई लिएर हजार प्रश्न गर्न सकिन्छ। नैतिक तथा आर्थिक पतन भएको छ भने बेहिसाब समातिनुपर्छ। त्यस्तै प्रकृतिका कथित नेताहरू पनि पक्रिनुपर्छ। तर पक्राउ पुर्जीसमेत नदिई मध्यरातमा समात्नु गलत भो,’ उनले लेखेका छन्।

खत्रीले यस्तो शैलीले सरकार र कानुनप्रतिको नागरिक भरोसामा असर पर्न सक्ने पनि बताएका छन्। उनले लेखेका छन्, ‘I am the monarch of all I survey’ भनियो भने सरकार र कानुनप्रतिको भरोसा भुत्ते हुन्छ।

प्रहरीले भने जबरालाई सुरक्षा जोखिम रहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको बताएको थियो। तर उक्त सुरक्षा खतरा के थियो, कसबाट थियो र करिब ११ घण्टापछि किन रिहा गरियो भन्नेबारे प्रहरीले अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।