अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रिहा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रिहा


काठमाडौं-पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरीको नियन्त्रणबाट रिहा भएका छन्। शनिबार अबेर राति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिइएका जबरालाई आइतबार दिउँसो टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई रिहा गरिएको पुष्टि गर्दै उनलाई सुरक्षित स्थानतर्फ पठाइएको जानकारी दिए। उनका अनुसार जबरालाई उनका छोराको जिम्मा लगाइएको छ।

प्रहरीले भने जबरालाई पक्राउ गरिएको नभई उनीमाथि भौतिक आक्रमण हुन सक्ने सूचना पाएपछि सुरक्षाका लागि कार्यालयमा ल्याइएको दाबी गरेको छ।

शनिबार राति अपराध अनुसन्धान कार्यालयको टोली महाराजगञ्जस्थित जबराको निवास पुगेको थियो। त्यसपछि उनलाई प्रहरी कार्यालयमा ल्याइएको थियो। घटनाबारे पक्राउको कारण र प्रक्रियालाई लिएर विभिन्न प्रश्न उठे पनि प्रहरीले सुरक्षा जोखिमका कारण उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

जबराले २०७५ पुस १७ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। महाभियोग प्रस्ताव पारित नभए पनि उनी त्यसपछि सर्वोच्च अदालत फर्किन पाएनन् र निलम्बनकै अवस्थामा उनको कार्यकाल सकिएको थियो।

उनिविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव लामो समय संसद्मा विचाराधीन रहेको थियो। संसद्को अधिवेशन समाप्त भएसँगै तत्कालीन संसद्का महासचिवले २०७९ मंसिरमा महाभियोग निष्क्रिय भएको पत्र दिएका थिए। उक्त पत्रविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको थियो।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पछि जबराविरुद्धको महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै उक्त रिट खारेज गरेको थियो।