अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणी पुलमा अड्किएको राइनो क्रुज हटाउन प्राविधिक तयारी

नारायणी पुलमा अड्किएको राइनो क्रुज हटाउन प्राविधिक तयारी


काठमाडौं-नारायणी नदीको पुलमुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी सोमबार बिहानदेखि पुनः सुरु गरिएको छ। पुललाई क्षति नपुग्ने गरी क्रुज सिप सुरक्षित रूपमा निकाल्न प्राविधिक टोलीले आवश्यक तयारी गरिरहेको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार प्राविधिकहरूसँगको छलफलपछि क्रुज सिप निकाल्ने तयारी गरिएको हो। ‘प्राविधिकहरूसँग सल्लाह गरी सबै तयारी गरेका छौं। पुलको पिल्लरलाई कमभन्दा कम क्षति हुने गरी निकाल्ने तयारी भइरहेको छ,’ उनले भने।

क्रुज सिप निकाल्न क्रेनसमेत प्रयोग गर्ने तयारी गरिएको छ। क्रेन अड्किएको स्थानसम्म पुर्‍याउन आइतबार रातिसम्म दुईवटा एक्स्काभेटर प्रयोग गरी बाटो बनाइएको थियो। सोमबार बिहानसम्म प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुखसहित इन्जिनियरहरूको टोली घटनास्थलमा खटिएको थियो।

क्रुज सिप निकाल्न दुईवटा विकल्पमा प्राविधिक तयारी भइरहेको छ। पहिलो विकल्पमा सिंगो क्रुज सिपलाई तानेर नदीको सुरक्षित किनारतर्फ ल्याउने र सम्भव नभए दोस्रो विकल्पका रूपमा क्रुज सिपलाई काटेर टुक्रा–टुक्रा गरी निकाल्ने तयारी गरिएको प्रजिअ अर्यालले बताए।

सोमबार बिहान ७ः२० बजेसम्म नारायणी नदीको पुलमा अड्किएको राइनो क्रुज हटाउन प्राविधिकस्तरको छलफल जारी थियो भने आवश्यक यान्त्रिक उपकरणहरू घटनास्थलमा तैनाथ अवस्थामा थिए। यद्यपि, पुलमाथिबाट भने सवारीसाधनको आवागमन नियमित रूपमा भइरहेको जनाइएको छ।