काठमाडौँ-लगातारको वर्षा, पहिरो, बाढी तथा सडक कटानका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालन भइरहेको छ।
विभागले अवरुद्ध सडक खुलाउन तथा जोखिमयुक्त स्थानमा यातायात सहज बनाउन आवश्यक उपकरण, हेभी मेसिन र जनशक्ति परिचालन गरेको जनाएको छ।
पूर्व–पश्चिम राजमार्ग (NH01) भने दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा रहेको विभागले जनाएको छ। पृथ्वी राजमार्गअन्तर्गत रातीखोला तथा पानीधारा (हग्दी–फिस्लिङ नजिक) मा खसेको ठूलो ढुंगा हटाएपछि बिहानदेखि यातायात सञ्चालन हुने जनाइएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा साना–ठूला पहिरो खसे पनि पोखरा जाने सवारीसाधनका लागि आवागमन खुला गरिएको छ। बीपी राजमार्गअन्तर्गत मान्ती, पिप्ले, दाउन्ने–कालोपुल, चार सयबेँसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानमा पहिरो तथा डाइभर्सनका कारण सडक अवरुद्ध छ। ती स्थानमा सडक खुलाउने काम भइरहेको र थप क्षति नभए केही स्थानमा भोलि बिहानसम्म यातायात सञ्चालन हुन सक्ने विभागले जनाएको छ।
कान्ति राजमार्गमा पनि पहिरो हटाउने काम जारी छ। थप पहिरो नआए राति १० बजेपछि सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हुलाकी राजमार्गअन्तर्गत ठोरी–माडी सडकखण्डमा चितवनको घ्याङखोलाको धार परिवर्तन भएपछि सडकको एप्रोच रोडको विङ वालमा थप क्षति पुगेको छ। विभागले तत्काल मर्मत गरी सडक सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।
सिद्धिचरण राजमार्ग (NH20) अन्तर्गत ओखलढुंगा–सल्लेरी सडकखण्डको सोभुखोला नजिक सडक भासिएपछि ब्याक–कटिङ गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ। मध्यपहाडी राजमार्ग (NH03) अन्तर्गत घोडाबाँधे–हटिया खण्ड पहिरोका कारण अवरुद्ध छ भने हटिया–बुर्तिबाङ खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
कालीगण्डकी करिडोर (NH48) अन्तर्गत बेनी–जोमसोम, पाल्पा, बागलुङ तथा नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो, सडक भासिने तथा पुलको एप्रोच भत्किने समस्या देखिएको छ। पहिरो पन्छाउने काम जारी रहे पनि सडक पूर्ण रूपमा सुधार गर्न तीन दिनभन्दा बढी समय लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
तमोर करिडोरमा खोलानालाको बहाव बढ्दा यातायात प्रभावित भएको छ। बहाव बढेमा सडक बन्द हुने र बहाव घटेपछि सञ्चालनमा आउने अवस्था रहेकाले आवश्यक उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।
राप्ती राजमार्गअन्तर्गत कपुरकोट–खारखोला–चुनिबोट खण्डमा जिल्ला प्रशासनको निर्णयअनुसार सवारी आवागमन बन्द गरिएको छ। कर्णाली राजमार्गअन्तर्गत गगने खोला, राँका तथा बाइसीसिमल–दहीखोला खण्डमा पहिरोका कारण सडक अवरुद्ध छ। ती स्थानमा पहिरो हटाउने काम भइरहेको छ।
भालुवाङ–चन्द्रौटा–कृष्णनगर सडकखण्डमा पहिरो तथा डुबानका कारण आंशिक अवरोध भएको छ। साना सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न सकिने विभागले जनाएको छ। बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासों गाउँपालिका, खोत्रोलगायतका स्थानमा पहिरोका कारण सडक प्रभावित छ।
त्रिभुवन राजपथअन्तर्गत झ्याप्लेमा पहिरोका कारण एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ। पहिरो पन्छाउने काम जारी रहेकाले भोलि बिहानसम्म दुईतर्फी यातायात सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ। साइलङ्दी–सन्धिखर्क–गोरापाटन सडकमा हालसम्म १२ स्थानमा पहिरो खसेको र पहिरो तथा ढुंगा हटाउने काम भइरहेको विभागले जनाएको छ।
यात्रुलाई अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सडक विभागले वर्षायाममा पहिरो, ढुंगा खस्ने, सडक भासिने तथा नदी–खोलाको बहाव बढ्ने जोखिम कायमै रहेकाले सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
पूर्ण रूपमा अवरुद्ध सडकखण्डमा यात्रा नगर्न तथा एकतर्फी वा आंशिक रूपमा सञ्चालनमा रहेका सडकमा स्थानीय प्रशासन, ट्राफिक प्रहरी र सडक विभागबाट जारी निर्देशन पालना गर्न विभागले आग्रह गरेको छ। अवरुद्ध सडक सञ्चालनमा ल्याउन आवश्यक उपकरण, हेभी मेसिन तथा जनशक्ति परिचालन गरिएको विभागले जनाएको छ।





प्रतिक्रिया