काठमाडौँ-ललितपुर महानगरपालिका-२४ धापाखेलमा पहिरोका कारण साढे २ तले घर ढलेको छ।
सोमबार बिहान सोवितकुमार थापाको घर पहिरोका कारण ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
उनका अनुसार घरभन्दा तलको जमिन गलेर पहिरो गएपछि घर ढलेको हो। असोज ९ गतेदेखि परेको लगातार वर्षाका कारण जमिन गलेको र त्यसैका कारण पहिरो गएको प्रहरीले जनाएको छ।
घर जोखिममा रहेको आकलन भएपछि त्यहाँ बस्दै आएको परिवारलाई अघिल्लो दिन नै सुरक्षित स्थानमा सारिएको थियो। परिवारलाई समयमै सुरक्षित स्थानमा सारिएकाले घटनामा मानवीय क्षति हुन नपाएको एसपी मिश्रले बताए।
आइतबार साँझदेखि वर्षा रोकिए पनि लगातारको वर्षाका कारण कमजोर बनेको जमिनमा पहिरो जाने क्रम देखिएको हो। प्रहरीले घटनास्थलको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।



प्रतिक्रिया