बागलुङ-बागलुङमा पछिल्लो तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो भने एक जना अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोका रहेका छन् ।
पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए ।
यससँगै अविरल वर्षापछि आएको विपद्मा परी जिल्लामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको प्रहरीले जनाएको छ । एक जना अझै बेपत्ता छन् ।
यसअघि शनिबार ताराखोला गाउँपालिकामै पहिरोमा परी एक जनाको मृत्यु भएको थियो । आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन् । त्यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा सडक तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण सङ्कलन भइरहेको छ ।



प्रतिक्रिया