अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीपहिरोमा २७ जनाको मृत्यु, १ हजार ६५ परिवार प्रभावित

बाढीपहिरोमा २७ जनाको मृत्यु, १ हजार ६५ परिवार प्रभावित


काठमाडौं-असोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी तथा चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ। विपद्मा परी सात जना घाइते भएका छन् भने चार जना अझै सम्पर्कविहीन रहेको सरकारले जनाएको छ ।

यस अवधिमा देशभर ५१३ वटा मनसुनजन्य घटना भएका छन्। ती घटनाबाट १ हजार ६५ परिवार प्रभावित भएका छन्। बाढी तथा पहिरोका कारण २२५ घर पूर्ण रूपमा र १३७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै, २७ गोठ तथा ११४ पशुचौपायामा समेत क्षति पुगेको सरकारले जनाएको छ।

बाढीपहिरोका कारण देशभरका विभिन्न राजमार्ग तथा सडकखण्डका १४७ स्थानमा क्षति पुगेको थियो। तीमध्ये १२५ स्थानमा मर्मत तथा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। बाँकी स्थानमा पनि सडक खुलाउने तथा मर्मतको काम भइरहेको छ।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलताल नजिक भासिएको सडकसमेत मर्मतपछि एकतर्फी सञ्चालनमा आएको छ।

बिपी राजमार्गको मात्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा डाइभर्सन बगेर सडक अवरुद्ध भएको छ । थप क्षति नभए भोलि साँझसम्म सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको सरकारले जनाएको छ।

कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम, पाल्पा, बागलुङ र नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो, सडक भासिने तथा पुलको एप्रोच बग्ने समस्या देखिएको छ। पहिरो पन्छाउने काम जारी रहेकाले सम्पूर्ण सडक सञ्चालनमा आउन तीन दिनभन्दा बढी समय लाग्ने प्रारम्भिक आकलन गरिएको छ।

भालुवाङ–चकचके-लिवाङ सडकमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ । बेसिसहर–चामे सडकअन्तर्गत मनाङको नासों गाउँपालिका–खोत्रोलगायत क्षेत्रमा पहिरो हटाउने काम भइरहेको छ । उक्त सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब तीन दिन लाग्ने अनुमान गरिएको छ ।

त्रिभुवन राजपथमा पहिरो पन्छाएर सुरक्षा सतर्कतासहित यातायात सञ्चालनमा ल्याइएको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा २१ स्थानमा पहिरो गएको भए पनि सडक खुलाउने काम तीव्र पारिएको छ । उक्त सडक भोलिसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सरकारले जनाएको छ।

१ हजार मेगावाटभन्दा बढी विद्युत् आपूर्ति प्रभावित

बाढीका कारण कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायत राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति बन्द भएको थियो।

त्यसमध्ये सेती–मादी करिडोरका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आएका छन्। बाढीका कारण बन्द भएको १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

क्षतिग्रस्त राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ। कुस्मा–दाना प्रसारण लाइनमा क्षति पुगेका कारण सात वटा जलविद्युत् केन्द्रको १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन।

कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–कुस्मा खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको सरकारले जनाएको छ।

टेलिकमका ७८२ टावर सञ्चालनमा

बाढी तथा पहिरोका कारण प्रभावित दूरसञ्चार सेवा पनि क्रमशः सञ्चालनमा ल्याउने काम भइरहेको छ। नेपाल टेलिकमका १ हजार १३२ वटा टावरको नेटवर्क विच्छेद भएकामा ७८२ वटा सञ्चालनमा ल्याइएको छ।

त्यस्तै, एनसेलका १६२ वटा नेटवर्क विच्छेद भएकामा १०५ वटा मर्मत गरी सञ्चालनमा ल्याइएको छ।

हजारौँ नागरिक सुरक्षित स्थानमा स्थानान्तरण

बाढीपहिरोबाट प्रभावित नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम पनि भइरहेको छ। नारायणी नदीमा आएको बाढीका कारण डुबानमा परेको सुस्ताका बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। चितवनको देवघाट, बाह्रघरेलगायत तटीय क्षेत्रका बासिन्दालाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि तिलाठी कोइलाडी गाउँपालिकामा डुबानमा परेका ५०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सर्लाहीको लखनदेई खोलामा आएको बाढीले भाडसर–खुटौनाको बस्ती डुबानमा पारेको छ भने रौतहटमा लालबकैया र बागमती नदीको तटीय क्षेत्र प्रभावित भएका छन् ।

तिनाउ नदीको किनारमा रहेका मझुवा, प्रगतिनगर, हात्तीसुँढ र युद्धनगरलगायत डुबान प्रभावित क्षेत्रबाट सुरक्षाकर्मीले करिब २०० घरपरिवारका १ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् ।

मुस्ताङ, मनाङ, पाल्पा, बागलुङ र म्याग्दीलगायत पहाडी तथा हिमाली जिल्लासमेत बाढीपहिरोबाट प्रभावित भएका छन् । प्रभावित नागरिकका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाइएको सरकारले जनाएको छ ।

सरकारले प्रभावित नागरिकको उद्धार तथा सुरक्षित व्यवस्थापनसँगै क्षतिग्रस्त सडक, विद्युत्, दूरसञ्चारलगायत पूर्वाधारको मर्मत तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले मौसमजन्य खतरा अझै नटरेको र जोखिम कायमै रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।