काठमाडौं-नेकपा (एमाले)की सचिव पद्मा अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएकी छन्।
बुधबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव अर्यालले जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार असफल भएको आरोप लगाइन्।
सचिव अर्यालले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जनताले प्रत्यक्ष अनुभूति गर्ने कुनै उपलब्धि दिन नसकेको बताइन्। चाडपर्व नजिकिँदै जाँदा समेत बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न नसकेको र बढ्दो महँगी नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको उनको आरोप थियो।
सचिव अर्यालले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार उदासीन बनेको टिप्पणी गरिन्। सरकारले क्षमता र प्रभावकारिता देखाउनुपर्ने समयमा नेतृत्व चुकेको भन्दै उनले जनताको समस्या समाधानतर्फ ध्यान दिन आग्रह गरिन्।
राजनीतिक आन्दोलनका क्रममा जेल जीवन भोगेको स्मरण गर्दै सचिव अर्यालले सत्य बोल्न वा जनताका पक्षमा आवाज उठाउन आफूहरू कुनै दबाब वा असुरक्षाबाट विचलित नहुने बताइन्।
सचिव अर्यालले भनिन्, ‘हामी हिजो परिवर्तनको आन्दोलनका क्रममा जेल बसेर आएका मान्छे हौँ। साँचो बोल्दा जेल परिन्छ वा असुरक्षित भइन्छ भन्ने डरले आफ्नो कर्तव्यबाट पछि हट्दैनौँ। हामीले सरकारसँग ठूला काम खोजेका छैनौँ। जनतालाई ठग्न भएन, राष्ट्रलाई कमजोर हुन दिन भएन। कम्तीमा जनतालाई ग्यास उपलब्ध गराउनुस् र महँगी नियन्त्रण गर्नुहोस्, यति सामान्य काम पनि सरकारले गर्न सकेको छैन।’
सचिव अर्यालले सरकार जनतालाई ठूला सपना बाँड्नुभन्दा उनीहरूको दैनिकी सहज बनाउने काममा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरिन्। जनताको जीवनयापनसँग जोडिएका समस्याको समाधानमा सरकारले प्राथमिकता दिन नसकेको भन्दै उनले प्रशासनिक तथा व्यवस्थापकीय दक्षतामाथि समेत प्रश्न उठाइन्।



प्रतिक्रिया