काठमाडौं–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका नेता तथा झापा आन्दोलनका दिवंगत नेता घनेन्द्रबहादुर बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
बिहीबार अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेलले पार्टीको झण्डा ओढाएर बस्नेतप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गरेका हुन् । श्रद्धाञ्जली सभामा एमालेका शीर्ष नेताहरूहरूको उपस्थिति रहेको थियो ।
अध्यक्ष ओलीले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्याएको योगदान अविस्मरणीय रहेको बताए। राजनीतिक संघर्षका क्रममा बस्नेतले लामो जेलजीवन र यातनाका अनेकौँ शृङ्खला भोगेको स्मरण गर्दै ओलीले त्यस्ता योद्धाहरूको संघर्षबाट लोकतान्त्रिक अधिकार प्राप्त भएको उल्लेख गरे।
बस्नेतको संघर्ष, त्याग र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक स्मरण भइरहने ओलीको भनाइ छ।
झापा आन्दोलनका अगुवा नेता, वाम साहित्यकार तथा पूर्वसांसद बस्नेतको बुधबार साँझ करिब पौने ८ बजे भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। लामो समयदेखि क्यान्सरबाट पीडित उनको ७३ वर्षको उमेरमा निधन भएको हो।
वि.सं. २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए। पञ्चायती निरंकुशताविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए।
झापा आन्दोलन हुँदै नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका बस्नेत वाम साहित्यकारका रूपमा समेत परिचित थिए। तत्कालीन नेकपा (एमाले) हुँदै पछिल्लो समयसम्म वामपन्थी आन्दोलनमा सक्रिय रहेका उनी संखुवासभाबाट निर्वाचित पूर्वप्रतिनिधिसभा सदस्यसमेत थिए। उनी २०४८ र २०५६ सालको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
सादा जीवन, निष्ठा र इमानको राजनीतिमा अडिग बस्नेतले प्रतिकूल परिस्थितिका बीच नेपाली कम्युनिस्ट आन्दोलन, सामाजिक रूपान्तरण तथा वाम साहित्यको क्षेत्रमा योगदान पुर्याएका थिए। उनको निधनले नेपाली कम्युनिस्ट आन्दोलन तथा वाम साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको एमाले नेताहरूले बताएका छन्।
बस्नेतको निधनप्रति विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, सहकर्मी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै उनलाई त्याग, संघर्ष र निष्ठाको राजनीतिका एक अभिभावकका रूपमा स्मरण गरेका छन्।









यसैबीच, बस्नेतको निधनका कारण नेकपा (एमाले)ले बिहीबार आयोजना गर्ने तय भएको नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बिहीबार दिउँसो ३ बजे च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको शपथग्रहण कार्यक्रम असोज १६ गते दिउँसो ३ बजेका लागि सारिएको छ।
एमालेले असोज ५ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना गरेको केन्द्रीय कमिटी बैठकबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। उनीहरूको शपथग्रहण बिहीबारका लागि तय गरिएको थियो।



प्रतिक्रिया