अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणतन्त्रपछि केही भएन भन्ने भाष्य तथ्यसँग मेल खाँदैन: प्रचण्ड

गणतन्त्रपछि केही भएन भन्ने भाष्य तथ्यसँग मेल खाँदैन: प्रचण्ड


काठमाडौँ-नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापनापछि मुलुकमा केही पनि नभएको भन्ने भाष्य इतिहास र तथ्यसँग मेल नखाने बताएका छन्।

शनिबार काभ्रे जिल्ला एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक परिवर्तनदेखि विकास निर्माणसम्म भएका उपलब्धिलाई इतिहासबाट मेटाएर नयाँ कथा निर्माण गर्न नसकिने बताए। गणतन्त्र स्थापनापछि भएका उपलब्धिको वस्तुनिष्ठ समीक्षा गर्दै कमजोरी स्वीकार गर्नुपर्ने र उपलब्धिलाई तथ्यसहित जनतासामु प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए।

‘गणतन्त्र आएपछि केही पनि भएन भन्ने कुरा इतिहास र तथ्यसँग मेल खाँदैन । सामन्ती राजतन्त्रबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा देशलाई रूपान्तरण गर्ने राजनीतिक प्रक्रियामा हामीले महत्त्वपूर्ण भूमिका खेलेका छौँ,’ प्रचण्डले भने।

उनले आफ्नो नेतृत्वमा सरकारमा रहँदा भएका कामको पनि तथ्यका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताए। पहिलो कार्यकालमा शान्ति प्रक्रियालाई संस्थागत गर्ने, गणतन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्ने र संविधान निर्माणको आधार तयार गर्ने महत्वपूर्ण राजनीतिक काम भएको उनको भनाइ थियो।

दोस्रो कार्यकालमा संविधान कार्यान्वयनलाई गति दिने, करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन गराउने, सङ्घीयताको व्यावहारिक कार्यान्वयन अघि बढाउने तथा भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने काम भएको उनले बताए।

लोडसेडिङ अन्त्य गर्ने दिशामा निर्णायक काम भएको उल्लेख गर्दै प्रचण्डले नेपाल अहिले वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताए। पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गलगायत राष्ट्रिय पूर्वाधार आयोजना, सडक विस्तार तथा पुनर्निर्माणलाई पनि विकास प्रक्रियाका महत्वपूर्ण उपलब्धिका रूपमा उनले प्रस्तुत गरे।

तेस्रो कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार, अर्थतन्त्र सुधार तथा राष्ट्रिय हितका विषयलाई प्राथमिकता दिइएको उनको दाबी थियो।

प्रचण्डले बदलिएको राजनीतिक परिस्थितिमा पुरानै शैलीबाट अघि बढेर चुनौतीको सामना गर्न नसकिने बताए। संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारको पक्षमा संघर्षलाई थप दृढ बनाउनुपर्ने उनको भनाइ थियो।

‘गत वर्ष भदौ २४ गतेको प्रतिगामी विध्वंसपछि देश सहज अवस्थामा अघि बढिरहेको छैन। अहिलेसम्म आइपुग्दा देशलाई असाधारण सङ्कटतर्फ धकेल्ने दुस्प्रयासहरू भइरहेका छन्,’ उनले भने, ‘यस्तो परिस्थितिमा त्यसका विरुद्ध तथा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हामीले अझ दृढतापूर्वक संघर्ष गर्नुपर्ने अवस्था छ।’

उनले बदलिएको परिस्थितिमा कम्युनिस्ट शक्तिहरूबीच पार्टी एकता तथा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताए। सदन र सडकको संघर्षमा सहकार्य गर्दै आवश्यकताअनुसार निर्वाचनमा समेत सहकार्यको आधार निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

पार्टीभित्र पनि गम्भीर रूपान्तरण आवश्यक रहेको प्रचण्डले बताए। पछिल्लो केन्द्रीय समिति बैठकले नेतृत्वमा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउने निर्णय गरेको जानकारी दिँदै उनले आगामी महाधिवेशनमार्फत वैचारिक बहस र पार्टी पुनर्संरचनाको प्रक्रिया अघि बढाइने बताए।

‘अबको बाटो विगतका उपलब्धिको रक्षा मात्र होइन, कमजोरी सच्याउँदै नयाँ परिस्थितिअनुसार पार्टी, विचार, संगठन र नेतृत्वलाई रूपान्तरण गर्ने बाटो हो,’ उनले भने।