अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि

कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि


काठमाडौं-नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि सुरु हुँदैछ। काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनको बन्दसत्र आज र भोलि सञ्चालन हुने कांग्रेसले जनाएको छ।

बन्दसत्रअघि आज बिहान १० बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। बन्दसत्रमा पेस गरिने विभिन्न प्रतिवेदन तथा प्रस्तावबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्न लागेको हो।

केन्द्रीय कार्यसमिति बैठकपछि सुरु हुने बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। त्यस्तै, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्नेछन्। ती प्रतिवेदन तथा प्रस्तावमाथि बन्दसत्रमा छलफल हुनेछ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित हिजोदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ।

यसैबीच, महाधिवेशन निर्वाचन समितिले आज मतदाता नामावलीसमेत प्रकाशन गर्दैछ। निर्वाचन समितिका अनुसार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। त्यसपछि साँझ ५ देखि साढे ६ बजेसम्म नामावलीविरुद्ध दाबी–विरोधका लागि समय तोकिएको छ।

दाबी–विरोधमाथि जाँचबुझका लागि साँझ साढे ६ देखि साढे ७ बजेसम्मको समय निर्धारण गरिएको छ। जाँचबुझपछि मतदाताको अन्तिम नामावली राति साढे ८ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

मंगलबार बिहान उम्मेदवारी मनोनयन दर्ताका लागि समय तोकिएको छ भने मतदान बुधबार बिहानदेखि हुने कांग्रेसले जनाएको छ।