अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वी नेपालमा अझै मनसुनी प्रभाव, विभिन्न स्थानमा भारी वर्षा

पूर्वी नेपालमा अझै मनसुनी प्रभाव, विभिन्न स्थानमा भारी वर्षा


काठमाडौं-पूर्वी भूभागमा अझै मनसुनी प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको हो।

कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा भने पश्चिमी वायुको प्रभाव रहेको छ। यही मौसमी प्रणालीको प्रभावले सोमबार बिहान लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ।

महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बाँकेको ढकेरीमा ५२ मिलिमिटर र बैजपुरमा २५ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो २४ घण्टामा कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी तथा तराईका विभिन्न भूभागमा वर्षा भएको छ भने केही स्थानमा भारी वर्षासमेत भएको छ।

झापाको अनारमनी बिर्तामा ५२.४ मिलिमिटर, पाँचथरको मेमेङ जगातमा ५५.८ मिलिमिटर, संखुवासभाको खाँदबारीमा ६२.८ मिलिमिटर र सुनसरीको चतरामा ४३.६ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कपिलवस्तुको रंगाईमा ६३ मिलिमिटर, रूपन्देहीको तुसारेपानीमा ४३.८ मिलिमिटर तथा बर्दियाको सानो श्री चेपाङमा ५२.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ।