अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवा बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

रसुवा बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन


काठमाडौं-गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्।

शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्।

बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन्।

सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवीण् आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटीका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेको इकाई प्रमुख सिलवालले जानकारी दिए। 

बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ।

चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँको स्कुलमा पठाइएको छ। मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी मावि भलायडाँडा र ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माविमा बसोबासको व्यवस्थासहित पठनपाठनको प्रबनध मिलाइएको छ।
 
बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए । नौकुण्ड गाउँपालिकामा भने गत भदौ ११ गतेदेखि नै पठनपाठन सुरु भएको थियो।