काठमाडौं-सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को पछिल्लो टिप्पणीप्रति संकेत गर्दै राजनीतिक संस्कारको जगेर्ना हुनुपर्ने बताएका छन्।
अर्यालले सोमबार बिहान सामाजिक सञ्जालमार्फत संवैधानिक लोकतन्त्र, संवैधानिक संस्कृति, राजनीतिक संस्कृति (संस्कार) र दलीय संस्कृतिको संरक्षण र जगेर्ना गर्नुपर्ने बताएका हुन्।
उनले लेखेका छन्, ‘संवैधानिक लोकतन्त्र, संवैधानिक संस्कृति, राजनीतिक संस्कृति (संस्कार), दलीय संस्कृतिको जगेर्ना होस्। अल्गोरिदम निर्देशित राजकीय अराजकताले नेपाल राष्ट्र (मातृभूमि)लाई योभन्दा बढी क्षति गर्न नसकोस्। दिशाबोध होस्, तत्वबोध होस्, राष्ट्रको हित होस्।’
अर्यालको यो टिप्पणी प्रधानमन्त्री साहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा गरेको टिप्पणीपछि आएको हो।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए। संसद् खुला र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले देशलाई खुलामञ्च आवश्यक रहेको धारणा राखेका थिए।
थापाको अभिव्यक्तिपछि प्रधानमन्त्री साहले आइतबार राति फेसबुकमार्फत लेखेका थिए, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’
प्रधानमन्त्री साहको उक्त टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा राजनीतिक संस्कार र नेताहरूको अभिव्यक्ति शैलीबारे बहस भइरहेको छ।
यसैबीच, जेनजी नेतृ रक्षा बमले पनि प्रधानमन्त्री साहको टिप्पणीप्रति असन्तुष्टि जनाएकी छन्।
उनले फेसबुकमा लेखेकी छन्, ‘धन्न जेनजीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कार समेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’
प्रधानमन्त्री साहको अभिव्यक्तिलाई लिएर आएका अर्याल र बमका प्रतिक्रियाले पछिल्लो समय राजनीतिक नेतृत्वको भाषा, व्यवहार र राजनीतिक संस्कारबारेको बहसलाई थप सतहमा ल्याएको छ।



प्रतिक्रिया