काठमाडौं-नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि ७ हजार ११४ जना मतदाताको अन्तिम नामावली सार्वजनिक गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको विधान तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरेको हो। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार नामावली प्रकाशनसँगै निर्वाचनका थप कार्यक्रम अघि बढाइएको छ।
निर्वाचन समितिको कार्यतालिकाअनुसार मंगलबार बिहान ९ः३० बजे मतदाता नामावलीमाथि दाबी–विरोधको समय तोकिएको थियो। त्यसपछि ९ः३० देखि १०ः३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरी बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी उम्मेदवार मनोनयन दर्ता फारम वितरण तथा दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको सोमबार सम्पन्न बन्दसत्रले पार्टीको विधान संशोधन गरेको छ। संशोधित विधानअनुसार २९७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन हुने व्यवस्था गरिएको छ। यही नयाँ व्यवस्थाअनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन हुन लागेको कांग्रेसले जनाएको छ।
२०० भन्दा बढी स्वयंसेवक परिचालन
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको व्यवस्थापन तथा सहजीकरणका लागि २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ।
कांग्रेस केन्द्रीय सदस्य एवं स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाका अनुसार बन्दसत्र र निर्वाचनस्थलमा प्रतिनिधिलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न स्वयंसेवक परिचालन गरिएको हो।
महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट करिब ७ हजार ५०० प्रतिनिधि काठमाडौं आएका छन्। महाधिवेशनको बन्दसत्र सोमबारदेखि सुरु भएको हो।
महाधिवेशनको कार्यतालिकाअनुसार मंगलबार र बुधबार बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने तयारी छ। बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन्।



प्रतिक्रिया