अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोबाइलमा ‘हाइ अलर्ट’ मेसेज आउन सक्ने, नआत्तिन गृह मन्त्रालयको अनुरोध

मोबाइलमा ‘हाइ अलर्ट’ मेसेज आउन सक्ने, नआत्तिन गृह मन्त्रालयको अनुरोध


काठमाडौं-विपद्का बेला नागरिकलाई समयमै पूर्वसूचना पुर्‍याउने उद्देश्यले सरकारले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ (Cell Broadcast System) को आज प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ।

गृह मन्त्रालयका अनुसार सोमबार साँझ ५ः३० बजेदेखि काठमाडौंका केही क्षेत्रमा नेपाल टेलिकमको २जी मोबाइल सञ्जालमार्फत उक्त प्रणालीको परीक्षण गरिनेछ। परीक्षणका क्रममा तोकिएको क्षेत्रभित्र रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनि (अलर्ट साउन्ड) सहित परीक्षण सन्देश प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ।

परीक्षण सन्देश नेपाली र अंग्रेजी दुवै भाषामा प्राप्त हुनेछ। सन्देशमा ‘यो परीक्षण सन्देश हो’ तथा ‘TEST ALERT’ स्पष्ट रूपमा उल्लेख हुने मन्त्रालयले जनाएको छ। परीक्षणका क्रममा एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने सम्भावना रहेको छ।

गृह मन्त्रालयले मोबाइलमा चेतावनी ध्वनि वा सन्देश प्राप्त भएमा सर्वसाधारणलाई नआत्तिन र कुनै प्रतिक्रिया वा कदम चाल्न आवश्यक नरहेको स्पष्ट पारेको छ। यो वास्तविक विपद्को सूचना नभई प्रणालीको प्राविधिक परीक्षण मात्र भएकाले भ्रममा नपर्न मन्त्रालयले आग्रह गरेको छ।

नेपालमै विकसित सेल ब्रोडकास्ट प्रविधि निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी सन्देश पुर्‍याउन प्रयोग गर्न सकिने प्रणाली हो। सामान्य एसएमएसभन्दा फरक यस प्रविधिमार्फत विपद्को जोखिम रहेका क्षेत्रका मोबाइल प्रयोगकर्तालाई लक्षित गरी तत्काल सूचना प्रवाह गर्न सकिन्छ। भूकम्प, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का समयमा नागरिकलाई सचेत गराउन र सुरक्षासम्बन्धी निर्देशन उपलब्ध गराउन यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।

गत भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा मोबाइलमार्फत सतर्कता सन्देश प्रवाह गरिएको भए पनि कतिपय नागरिकले समयमै सन्देश नपढेको तथा सूचना प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएका थिए। त्यसलाई थप प्रभावकारी बनाउने विकल्पका रूपमा सरकारले सेल ब्रोडकास्ट प्रणालीको परीक्षण अघि बढाएको हो।

प्रारम्भिक परीक्षणबाट प्रणालीको प्राविधिक क्षमता र प्रभावकारिता मूल्यांकन गरी आगामी दिनमा विपद्को उच्च जोखिम रहेका क्षेत्रहरूमा यसको प्रयोग विस्तार गर्न सकिने अपेक्षा गरिएको छ।