अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल भारत सकारात्मक दिशातर्फ : सरकार

नेपाल भारत सकारात्मक दिशातर्फ : सरकार


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक दिशामा अघि बढाउन सहयोग पुगेको सरकारले निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणका उपलब्धिबारे जानकारी गराउँदै यस्तो निष्कर्ष सुनाएका हुन्।

मन्त्री खनालका अनुसार नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य र सम्बन्ध विस्तारका लागि नयाँ आधार तयार गरेको छ। राष्ट्रहितको प्रवर्द्धन गर्दै सहयोगात्मक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य भ्रमणले लिएको उनले बताए।

उनले भने, ‘नेपाल–भारत सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काउन भ्रमण फलदायी बनेको छ।’

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय वार्ता गरेका थिए। वार्तापछि लामो समयपछि दुई देशबीच संयुक्त वक्तव्य जारी हुनुका साथै ‘विकसित भारत, समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्ताबेज सार्वजनिक गरिएको थियो।

मन्त्री खनालले उक्त दस्ताबेजले ऊर्जा, कनेक्टिभिटी, व्यापार तथा पारवहनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको बताए। साथै, सन् १९५० को सन्धिलगायत विगतमा भएका सन्धि तथा सम्झौताको समयानुकूल पुनरावलोकन र परिमार्जनका लागि समेत यसले सम्भावना खोलेको उनको भनाइ छ।

भारतबाट १५ हजार करोड भारुको विकास सहायता

भ्रमणका क्रममा भारतले नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ (करिब २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उक्त सहायतामध्ये ३ हजार ५०० करोड भारु (करिब ५६ अर्ब नेपाली रुपैयाँ) विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार निर्माणका लागि अनुदानका रूपमा उपलब्ध हुनेछ।

त्यस्तै, बाँकी ११ हजार ५०० करोड भारु (करिब १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ) ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय मुद्रामै आधारित सहुलियतपूर्ण ऋण सुविधाका रूपमा उपलब्ध गराइने जनाइएको छ।

व्यापार तथा पारवहनमा नयाँ सहमति

नेपालको तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि कोलकाता र विशाखापट्टनमका अतिरिक्त भारतको गुजरातस्थित दीनदयाल (काण्डला) र ओडिसास्थित पारादीप बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको छ।

हवाई सञ्जालतर्फ काठमाडौं–भैरहवा–लखनउ जोड्ने बी–३४५ हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सहमत भएको छ।

यसैगरी, दुवै देशका प्रधानमन्त्रीले जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवाको भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेका छन्। दार्चुला–धारचुला जोड्ने मोटरेबल पुलको उद्घाटन तथा बनबासामा एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्याससमेत गरिएको छ।

ऊर्जा र पूर्वाधारमा सहकार्य विस्तार

ऊर्जा साझेदारीअन्तर्गत नेपालको इनरुवा र भारतको न्यू पूर्णिया तथा नेपालको दोदोधारा र भारतको बरेलीबीच संयुक्त उपक्रममार्फत नयाँ प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ।

त्यस्तै, तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गरिएको छ भने लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिन दुवै देशका प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याइएको छ भने झापा–सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ।

शिक्षा, प्रविधि र सीमा समस्यामा पनि सहकार्य

शिक्षा क्षेत्रको सुधार तथा प्राविधिक जनशक्ति उत्पादनका लागि नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने निर्णय भएको छ।

यसैगरी प्राकृतिक प्रकोप व्यवस्थापन, डिजिटल प्रविधि, स्वास्थ्य, आयुर्वेद, सहरी विकास र दक्षिण एसिया स्याटेलाइटको उपयोगलगायतका क्षेत्रमा आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको मन्त्री खनालले जानकारी दिए।

सीमा व्यवस्थापनका विषयमा संयुक्त निरीक्षण तथा सीमा स्तम्भ मर्मतको अवस्थाबारे समीक्षा गरिएको छ। थाती रहेका सीमासम्बन्धी समस्या समाधानका लागि आवश्यक काम अघि बढाउन दुवै देशका परराष्ट्रमन्त्री तथा विदेश सचिवलाई निर्देशन दिइएको पनि उनले बताए।

मन्त्री खनालले प्रधानमन्त्री शाहको भ्रमणले नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै भ्रमणको निमन्त्रणा दिएकोमा भारत सरकारप्रति धन्यवादसमेत व्यक्त गरे।