काठमाडौं-भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सोमबार साँझ स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरेका थिए।
भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतवासीप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रमणका केही तस्बिर सार्वजनिक गर्दै मोदी र भारतवासीप्रति आभार प्रकट गरेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए।
भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनलगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा आठवटा समझदारी भएका छन् ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी थिए ।



प्रतिक्रिया