काठमाडौँ-नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन्।
बुधबार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले एमालेले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्नुपर्ने बताएकी हुन्।
उनले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा अघि बढ्दै आएको एमाले मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक दल भएको उल्लेख गरिन्।

‘यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आवश्यक छ । पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्दछ’, उनले भनिन्।
विशेषगरी विदेशमा रहेका नेपाली समुदायमाझ नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरूबारे सही सूचना तथा विचार सम्प्रेषण गर्दै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न प्रवासी नेपाली मञ्चले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
भण्डारीले प्रवासमा रहेका नेपालीहरूको अवस्था, आवश्यकता र समस्या फरक–फरक हुने भएकाले श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा तथा विभिन्न पेसामा संलग्न सबै समुदायका सरोकारलाई समेटेर सङ्गठनका गतिविधि अघि बढाउनुपर्ने बताइन् । महिला तथा युवालाई नेतृत्वमा अघि बढ्ने अवसर र वातावरण सिर्जना गर्न पनि उनले जोड दिइन्।
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले लाखौँ परिवारको जीवनयापन र मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै उनले प्रवासी नेपालीको योगदानलाई विप्रेषणमा मात्र सीमित गरेर हेर्न नहुने बताइन् । विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि, अनुभव र कार्यसंस्कृतिलाई नेपालको कृषि, उद्योग, शिक्षा, प्रविधि तथा सेवा क्षेत्रको विकाससँग जोड्नुपर्ने उनको धारणा थियो ।
उनले विदेशमा रहेका नेपालीहरू आफू बसेको मुलुकमा नेपालको पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्ने जनस्तरका दूत भएको उल्लेख गर्दै त्यहाँको कानुन, नियम र संस्कृतिको सम्मान गरी इमानदारी तथा व्यावसायिक दक्षताका साथ काम गर्न आग्रह गरिन्।
विदेशमा रहेका नेपाली, विशेषगरी श्रमिकहरूले श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल, ठगी तथा सम्झौताविपरीत काम गर्नुपर्ने जस्ता समस्या भोगिरहेको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनुपर्ने बताइन् । रोजगारदाता मुलुकसँग प्रभावकारी श्रम सम्झौता गरी श्रमिकको उचित पारिश्रमिक, कानुनी अधिकार, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने उनको भनाइ थियो।
त्यसैगरी, प्राकृतिक स्रोतमा आधारित हरित उद्योग, जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार, खनिजमा आधारित उद्योग तथा पर्यावरणमैत्री पर्यटनको विकासबाट स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उनले बताइन्।
यसका लागि स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने र प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप तथा उद्यमशीलतालाई स्वदेशी निजी क्षेत्रसँग जोड्नुपर्नेमा उनले जोड दिइन् । सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । दुई दिनसम्म चल्ने अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनको समापन समारोहलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।





प्रतिक्रिया