काठमाडौं-पोखरामा आयोजित १९औँ संस्करणको भाइटीका महोत्सवमा १५ देशका ५१ जना विदेशी पर्यटकले भाइटीका लगाएका छन्।
महोत्सवमा अमेरिका, बेलायत, चीन, जापान, अस्ट्रेलियालगायत १५ देशका पर्यटकलाई रेम्बो चिल्ड्रेन होम्सका बालिकाले सप्तरङ्गी टीका लगाइदिएका हुन्।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार संघले भाइटीका महोत्सवलाई निरन्तरता दिएपछि पोखराका विभिन्न होटलमा समेत विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम आयोजना हुँदै आएको छ।
भाइटीका लगाएपछि लिथुएनियाकी पर्यटक मोनिकाले नेपाली जनता र तिहारको सांस्कृतिक पक्ष आफूलाई निकै मन परेको बताइन्। उनी मर्दी हिमाल पदयात्राका क्रममा पोखरा पुगेकी हुन्।
महोत्सवमा सहभागी विदेशी पर्यटकले देउसीसमेत खेलेका थिए। उनीहरू नेपाली गीतसङ्गीतमा नाचगान गर्दै तिहारको रमाइलोमा सहभागी भएका थिए।
यस महोत्सवले विदेशी पर्यटकलाई नेपाली संस्कृति, परम्परा र चाडपर्वसँग प्रत्यक्ष जोड्ने अवसर प्रदान गरेको छ।









प्रतिक्रिया