अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल हुँदै दुईपटक भारत पुर्‍याएका थिए हेरोइन, यसपटक विमानस्थलबाट परे पक्राउ

नेपाल हुँदै दुईपटक भारत पुर्‍याएका थिए हेरोइन, यसपटक विमानस्थलबाट परे पक्राउ


काठमाडौं-नेपाल हुँदै दुईपटक भारतसम्म लागुऔषध ओसारपसार गरेको आरोप लागेका एक भारतीय नागरिक यसपटक पाँच किलो ५०० ग्राम सेतो हेरोइनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज तिघारे छन्। लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार उनी थाइल्यान्डबाट नेपाल आउने क्रममा विमानस्थलमा पक्राउ परेका हुन्।

कात्तिक २८ गते थाइल्यान्डबाट नेपाल आएका तिघारेमाथि शंकास्पद यात्रुको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा प्रहरीले चेकजाँच गरेको थियो। त्यसक्रममा उनले साथमा ल्याएको लगेजभित्र खरायो र बिरालोको खानाका प्याकेटमा लुकाएर राखेको पाँच किलो ५०० ग्राम सेतो हेरोइन बरामद भएको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार तिघारे यसअघि पनि दुईपटक नेपाल आएका थिए। उनी सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएको अनुसन्धानबाट खुलेको छ। तीमध्ये पहिलोपटक हवाई मार्ग र दोस्रोपटक स्थलमार्ग हुँदै नेपालबाट भारतसम्म लागुऔषध पुर्‍याएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

प्रहरीका अनुसार तिघारे अन्तर्राष्ट्रिय लागुऔषध कारोबारमा संलग्न सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको अनुसन्धानबाट खुलेको छ। उनले लाओससहित जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको पाइएको ब्यूरोले जनाएको छ।

उनको साथबाट एक थान पासपोर्ट, मोबाइल फोन र मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ।

ब्यूरोका अनुसार बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ पर्छ। उक्त हेरोइन भारत पुर्‍याइएको भए त्यहाँ अझ महँगो मूल्यमा बिक्री हुन सक्ने प्रहरीको भनाइ छ।

लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार यस परिमाणको हेरोइन कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको कैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

पक्राउ परेका तिघारेमाथि लागूऔषध नियन्त्रण ब्यूरोले थप अनुसन्धान गरिरहेको जनाएको छ।