अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै


काठमाडौं-आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ।

यसअघि गत मङ्सिर ७ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो। तर, नवनियुक्त आईजीपी डा. मनोज केसीले अदालतबाट पठाइएको म्याद बुझेको प्रमाण पेस हुन नसकेपछि सुनुवाइ स्थगित भएको थियो।

कार्कीले आफूलाई प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न र नवनियुक्त आईजीपी केसीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका छन्।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारण खुलाउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।

आज हुने सुनुवाइपछि कार्कीलाई पुनर्बहाली गर्ने वा नगर्ने तथा नवनियुक्त आईजीपी केसीको कामकारबाही रोक्ने गरी अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा सर्वोच्च अदालतले निर्णय गर्नेछ।