अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोमानियामा काम र तलब नपाएपछि नेपाली श्रमिक आन्दोलित

रोमानियामा काम र तलब नपाएपछि नेपाली श्रमिक आन्दोलित


काठमाडौं-युरोपको आकर्षक रोजगारीको सपना बोकेर रोमानिया पुगेका करिब ६ सय नेपाली श्रमिक सम्झौताअनुसार काम, पारिश्रमिक तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । श्रमिकको गुनासोपछि सरकारले समस्या समाधानका लागि कूटनीतिक तथा प्रशासनिक पहल अघि बढाउनुका साथै नेपालबाट श्रमिक पठाउने प्रक्रियामा संलग्न म्यानपावर कम्पनीमाथि अनुसन्धान सुरु गरेको छ ।

रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत नेपाली श्रमिक शनिबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले कम्पनी परिसरबाहिर भेला भएर ‘वि वान्ट जस्टिस’ भन्दै नाराबाजी गरेका छन् । श्रमिकको मुख्य गुनासो नियमित काम नपाउनु, सम्झौताअनुसार पारिश्रमिक नपाउनु र सेवा–सुविधामा अनियमितता हुनु रहेको छ ।

रोजगारीका लागि रोमानिया पुगेका श्रमिकले नेपालबाट प्रस्थान गर्नुअघि प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च गरेको बताएका छन् । यति ठूलो रकम ऋण लिएर विदेश पुगे पनि नियमित काम नपाउँदा ऋण तिर्न र दैनिक खर्च धान्नसमेत कठिन भएको उनीहरूको गुनासो छ ।

एक श्रमिकका अनुसार कम्पनीले महिनामा मुस्किलले दुई दिन मात्रै काम दिने गरेको छ । बाँकी दिन कामविहीन भएर कोठामै बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘रोमानियामा नियमित काम पाउने आशले लाखौँ रुपैयाँ बुझाएर आएका हौँ । आफैँले १० देखि १२ लाख रुपैयाँसम्म तिरेका छौँ । तर यहाँ आएपछि महिनामा दुई दिन पनि काम दिएको छैन । सम्झौताअनुसार पारिश्रमिकसमेत पाइएन,’ एक श्रमिकले गुनासो गरे ।

श्रमिकहरूका अनुसार नेपालबाट आउँदा गरिएको सम्झौता र रोमानिया पुगेपछि भोग्नुपरेको वास्तविक अवस्थाबीच ठूलो अन्तर छ । सम्झौतापत्रमा उल्लेख गरिएको काम, आधारभूत पारिश्रमिक र वास्तविक भुक्तानीमा फरक परेको उनीहरूको आरोप छ । पछिल्लो समय आवास सुविधाका नाममा तलबबाट रकम कटौती हुन थालेपछि असन्तुष्टि थप बढेको उनीहरूले बताएका छन् ।

श्रमिकहरूले सम्झौतापत्रमा उल्लेख भएअनुसार काम, पारिश्रमिक र सेवा–सुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।

सरकार सक्रिय, म्यानपावरमाथि अनुसन्धान

रोमानियामा नेपाली श्रमिक आन्दोलित भएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले श्रमिकका समस्या समाधानका लागि कूटनीतिक तथा प्रशासनिक पहल थालेको छ । मन्त्रालयले रोमानियाको जिम्मेवारीसमेत हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरी समस्या समाधानको प्रक्रिया अघि बढाएको हो ।

श्रममन्त्री रामजी यादवले बर्लिनस्थित नेपाली राजदूतावाससँग सम्पर्क गरी रोमानियामा रहेका श्रमिकका समस्याबारे जानकारी लिनुका साथै समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिएका छन् । त्यस्तै, नेपालबाट श्रमिक पठाउने प्रक्रियामा संलग्न म्यानपावर कम्पनी तथा एजेन्टमाथि अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभागलाई समेत निर्देशन दिएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालका अनुसार श्रमिकका समस्या सार्वजनिक भएलगत्तै विभागले पीडितसँग प्रत्यक्ष सम्पर्क गरी गुनासो संकलन र सम्बोधनको काम सुरु गरेको थियो ।

‘हिजो बेलुकातिर सूचना प्राप्त भएपछि नै हामीले श्रमिकको समस्याप्रति संवेदनशील भएर काम सुरु गरेका हौँ । पीडित श्रमिकसँग कुरा गरेर केही विषय संकलन गरेपछि आज बिहानै सम्बन्धित म्यानपावरमा अनुगमन गर्न टोली पठायौँ,’ ढकालले भने ।

विभागले अनुगमनका क्रममा प्राप्त प्रारम्भिक तथ्यका आधारमा थप अनुसन्धान अघि बढाउन अनुसन्धान अधिकृतसमेत तोकेको छ । आवश्यक कानुनी प्रक्रिया अघि बढाउन न्यायाधीकरणमा थप अनुमतिका लागि फाइल पठाइसकेको ढकालले बताए ।

उनका अनुसार रोमानियामा समस्यामा परेका श्रमिकलाई पठाउने प्रक्रियामा केही म्यानपावर कम्पनीको संलग्नताबारे विभागले अनुगमन गरिरहेको छ । अन्य कम्पनीमाथि पनि अनुसन्धान जारी रहने उनले बताए ।

व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा चर्को रकम असुलीको आशंका

रोमानिया जाने नेपाली श्रमिकको प्रक्रियामा व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा म्यानपावर कम्पनीले सहजीकरण गरी चर्को रकम असुल्ने गरेको आशंका वैदेशिक रोजगार विभागले गरेको छ ।

रोमानिया पुगेका श्रमिकले व्यक्तिगत श्रम स्वीकृति लिएको देखिए पनि उनीहरूलाई विदेश पठाउने प्रक्रियामा म्यानपावर कम्पनीले सहजीकरण गरेको हुन सक्ने विभागको प्रारम्भिक बुझाइ छ । व्यक्तिगत श्रम स्वीकृतिमा जाने श्रमिकलाई सहजीकरण गर्ने नाममा १० लाख रुपैयाँभन्दा बढी रकम असुलिएको गुनासोसमेत आएको विभागले जनाएको छ ।

विभागले म्यानपावर कम्पनीहरूको भूमिका, श्रमिक छनोट तथा भर्ना प्रक्रिया, सेवा शुल्क र रोजगारीका सर्तलगायत विषयमा अनुसन्धान गरिरहेको छ । गैरकानुनी रूपमा सेवा शुल्क असुली, भ्रामक सूचना प्रवाह, अनुचित दबाब तथा रोजगारीका सर्तमा अनियमितता भएको पाइए सम्बन्धित संस्था र व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।

रोमानियामा नेपाली श्रमिकको संख्या बढ्दै, कूटनीतिक पहुँचको चुनौती

रोमानियामा नेपाली श्रमिकको बढ्दो उपस्थितिसँगै उनीहरूले भोगिरहेका समस्या पनि सार्वजनिक हुँदै आएका छन् । सरकारी अभिलेखमा रोमानियामा ५० देखि ५५ हजार नेपाली रहेको देखिए पनि हाल करिब ७५ देखि ८० हजार नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

युरोपमा राम्रो आम्दानी हुने आशमा म्यानपावर कम्पनी तथा एजेन्टको प्रलोभनमा परी लाखौँ रुपैयाँ खर्च गरेर जाने श्रमिकले गन्तव्य मुलुकमा पुगेपछि अपेक्षाअनुसार काम र पारिश्रमिक नपाउँदा आर्थिक संकट झेल्नुपर्ने अवस्था देखिएको छ ।

रोमानियामा नेपालीको संख्या बढेसँगै मृत्यु, बेपत्ता तथा आत्महत्याजस्ता दुखद घटनासमेत देखिन थालेका छन् । तर, रोमानियामा नेपालको आफ्नै दूतावास वा कन्सुलर कार्यालय नहुँदा समस्यामा परेका श्रमिकले तत्काल कूटनीतिक सहयोग प्राप्त गर्न कठिनाइ भोग्नुपर्ने अवस्था रहेको छ । हाल जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले रोमानियाको कूटनीतिक मामिला हेर्दै आएको छ ।

लाखौँ रुपैयाँ ऋण लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक गन्तव्य मुलुक पुगेपछि सम्झौताअनुसार काम, पारिश्रमिक र सेवा–सुविधा नपाउने समस्या पटकपटक देखिँदै आएको छ । रोमानियाको पछिल्लो घटनाले वैदेशिक रोजगार प्रक्रियामा श्रमिकलाई देखाइने सपना, रोजगारदातासँग गरिएको सम्झौता र गन्तव्य मुलुकको वास्तविक अवस्थाबीचको अन्तरलाई पुनः उजागर गरेको छ ।

श्रम मन्त्रालयले तत्काल देखिएका समस्या समाधानसँगै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन वैदेशिक रोजगार प्रक्रियाको नियमन, अनुगमन तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने जनाएको छ ।