अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने  सहमति स्वागतयोग्य: योगेश भट्टराई

भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने  सहमति स्वागतयोग्य: योगेश भट्टराई


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने नेपाल र भारतबीच भएको सहमतिको स्वागत गरेका छन्।

उपमहासचिव भट्टराईले उक्त सहमतिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप व्यवस्थापनमा एक हदसम्म सहयोग पुग्ने बताएका छन्।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न सहज हुने वा नहुने भन्ने विषय प्राविधिक निष्कर्षपछि मात्रै स्पष्ट हुने उनको भनाइ छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपमहासचिव भट्टराईले लेखेका छन्, ‘मैले बुझेअनुसार ६ हजार ५०० फिट भैरहवा र १५ हजार फिट पोखरालाई उपयुक्त हुन्छ । हेरौँ, भारतीय प्राविधिकले यो मान्छन् या मान्दैनन्।’

उपमहासचिव भट्टराईले दुईतर्फी हवाई रुट सञ्चालनका लागि नेपालको प्राथमिकता अझै महेन्द्रनगर र नेपालगन्ज नै हुनुपर्नेमा जोड दिएका छन्। ‘दुईतर्फी हवाई रुटमा फेरि पनि हाम्रो प्राथमिकता महेन्द्रनगर र नेपालगन्ज नै हो,’ उपमहासचिव भट्टराईले लेखेका छन् ।

उपमहासचिव भट्टराईले सन् २०१९ ताका नेपाल र भारतका सम्बन्धित अधिकारीबीच हवाई रुटका विषयमा भएको छलफलको निष्कर्ष र कार्यान्वयनको चरणमा पुग्नै लाग्दा रोकिएको कारणबारे पनि प्रश्न उठाएका छन्।

उपमहासचिव भट्टराईले लेखेका छन्, ‘हवाई रुटका बारेमा २०१९ ताका दुई देशका सम्बन्धित अधिकारीका बीचमा छलफलको निष्कर्ष कहाँ पुगेको थियो ? र कार्यान्वयनको चरणमा पुग्नै लाग्दा के कारणले कार्यान्वयन भएन ? कुनै वेला बताउँला।’