काठमाडौँ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने दुई किलो ३४८ ग्राम पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा चीनको ग्वाङ्दोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन जिनपिङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरू हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत सोमबार राति काठमाडौँ आएका थिए। मंगलबार राति करिब ११ः१५ बजे भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनीहरूको जाँच गरिएको थियो।
जाँचका क्रममा उनीहरूले मलद्वार तथा भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाइछिपाइ ल्याएको अवस्थामा आठ थान गोलाकार अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थमध्ये लिन लिना साथबाट पाँच थान र लिन जिनपिङको साथबाट तीन थान फेला परेको थियो। लिन लिना साथबाट प्लास्टिकसहित एक किलो ३४० ग्राम र लिन जिनपिङको साथबाट एक किलो आठ ग्राम तौल भएको पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्लास्टिकको र्यापसहित बरामद पदार्थको कुल तौल दुई किलो ३४८ ग्राम रहेको छ। उक्त पदार्थ सुन हो वा होइन भन्ने परीक्षण तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाउने तयारी गरिएको छ।



प्रतिक्रिया