अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिविका कलेजमा अन्य विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्न रोक, स्वघोषणा माग

त्रिविका कलेजमा अन्य विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्न रोक, स्वघोषणा माग


काठमाडौँ-त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूले एउटै परिसरभित्र अन्य कुनै पनि स्वदेशी वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको आधिकारिक स्वघोषणा पत्र बुझाउनुपर्ने भएको छ।

त्रिवि उपकुलपतिको कार्यालयले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै मंसिर १५ गतेभित्र अनिवार्य रूपमा स्वघोषणा पत्र पठाउन सम्बन्धित क्याम्पस तथा कलेजहरूलाई निर्देशन दिएको हो।

विश्वविद्यालयका अनुसार सूचीकृत क्याम्पस तथा कलेजहरूमा नयाँ विषय, कार्यक्रम, सेक्सन तथा कोटा थप गर्ने प्रयोजनका लागि उक्त विवरण माग गरिएको हो। त्रिवि कार्यकारी परिषद्को २०८३ कात्तिक २१ गतेको निर्णयअनुसार यो प्रक्रिया अघि बढाइएको हो।

त्रिवि सम्बन्धनसम्बन्धी विनियम २०७३ (संशोधनसहित) को परिच्छेद १३ मा त्रिभुवन विश्वविद्यालयबाहेक अन्य कुनै विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्सँग सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था छ।

सोही व्यवस्थाबमोजिम क्याम्पस तथा कलेजहरूले आफ्नो व्यवस्थापनअन्तर्गत एउटै परिसरमा अन्य कुनै स्वदेशी वा विदेशी संस्थाबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन नगरेको सुनिश्चित गर्न विश्वविद्यालयले स्वघोषणा माग गरेको हो।

सम्बन्धित क्याम्पस तथा कलेजहरूले उक्त व्यहोरा प्रमाणित हुने आधिकारिक स्वघोषणा पत्र तयार गरी विश्वविद्यालयको तोकिएको इमेल ठेगानामा मंसिर १५ गतेभित्र अनिवार्य रूपमा पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ।