अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डको टिप्पणी: बालेनको भारत भ्रमणमा नयाँ र तात्त्विक उपलब्धि भएन

प्रचण्डको टिप्पणी: बालेनको भारत भ्रमणमा नयाँ र तात्त्विक उपलब्धि भएन


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणबाट कुनै नयाँ र तात्त्विक उपलब्धि हासिल नभएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे प्रचण्डले उक्त भ्रमणलाई सामान्य र नियमित भ्रमणका रूपमा बुझ्नुपर्ने बताए। केहीले भ्रमणलाई विशिष्ट र ऐतिहासिक भन्दै चर्चा गरे पनि त्यसलाई अतिरञ्जित गर्न आवश्यक नरहेको उनको भनाइ छ।

‘प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सामान्य र नियमित भ्रमणका रूपमा बुझेको छु। कसैले यसलाई विशिष्ट, ठूलो र ऐतिहासिक भयो भन्न खोजेका छन्, त्यो सही होइन,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री एकपटक जानुपर्ने थियो, जानुभयो। गएपछि केही कुरा भए होलान्, तर नयाँ र तात्त्विक कुरा भयो भन्ने मलाई लाग्दैन।’

प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा भएको भारत भ्रमणका क्रममा उठाइएका विषयहरूको तुलनामा समेत अहिलेको भ्रमण उपलब्धिमूलक हुन नसकेको दाबी गरे। आफ्नो कार्यकालमा हवाई रुट, विद्युत् व्यापार र सीमा समस्यालगायतका विषयमा ठोस पहल भएको स्मरण गर्दै उनले वर्तमान भ्रमणमा ती विषयहरू सैद्धान्तिक छलफलभन्दा अगाडि बढ्न नसकेको बताए ।

यद्यपि, प्रधानमन्त्रीको भारत भ्रमण आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई भने सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।

उनको टिप्पणीले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई लिएर राजनीतिक वृत्तमा भइरहेको उपलब्धिको चर्चा र मूल्यांकनमाथि नयाँ बहस सिर्जना गरेको छ।