काठमाडौं-नेपाल बार एसोसिएशनले काठमाडौंको कालिकास्थानस्थित एक कानुन व्यवसायीको कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरी कानुनी परामर्श लिइरहेका सेवाग्राहीलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
एसोसिएशनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै २०८३ मङ्सिर ९ गते काठमाडौं महानगरपालिका-२९, कालिकास्थानस्थित जन चेतना ल फर्ममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
बार एसोसिएशनद्वारा जारी विज्ञप्तिमा कानुनी परामर्श तथा छलफल भइरहेको अवस्थामा आफूलाई सिभिल प्रहरी भएको परिचय दिँदै केही व्यक्तिहरू कानुनबमोजिम अनुमति नलिई ल फर्मभित्र प्रवेश गरेको उल्लेख छ। उनीहरूले कानुनी परामर्श लिइरहेका सेवाग्राहीलाई कार्यालयबाटै नियन्त्रणमा लिनुका साथै फर्ममा आबद्ध कानुन व्यवसायीहरूसँग अमर्यादित एवं असभ्य व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ।
कानुनी परामर्शका क्रममा सेवाग्राहीका महत्त्वपूर्ण कागजात तथा अभिलेख सुरक्षित रहने ल फर्मजस्तो संवेदनशील स्थानमा कानुनबमोजिम अनुमति नलिई प्रवेश गर्नु गम्भीर विषय भएको बारको ठहर छ। यस्तो कार्यले कानुनी शासन, कानुन व्यवसायीको पेसागत गोपनीयता र मर्यादामाथि गम्भीर आघात पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै, सेवाग्राहीले कानुन व्यवसायीसँग कानुनी परामर्श लिन पाउने संवैधानिक तथा कानुनी हकमाथि हस्तक्षेप भएको भन्दै बारले घटनामा संलग्न गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा कानुन व्यवसायीको पेसागत मर्यादा र गोपनीयताको संरक्षण सुनिश्चित गर्न पनि एसोसिएशनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी कर्मचारीहरू ल फर्म भित्र अनधिकृत रूपमा प्रवेश गर्ने कार्यले कानुनी शासन र कानुन व्यवसायीका पेसागत गोप्यता एवम् मर्यादामाथि समेत गम्भीर आघात पुर्याएका हुँदा सो गैरकानुनी एवम् अमर्यादित कार्यमा संलग्न दोषीलाई यथाशीघ्र आवश्यक कारबाही गरी अब उप्रान्त यस्ता दुखद् घटना नदोहोरिन दिन सम्बद्ध निकायको ध्यानाकर्षण समेत गराउँदछौँ।’
नेपाल बार एसोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा कानुनी परामर्शको क्रममा रहेका सेवाग्राहीलाई ल फर्मबाटै नियन्त्रणमा लिने कार्यप्रति विरोध जनाउँदै कानुन व्यवसायीको कार्यालयको मर्यादा र पेसागत स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।




प्रतिक्रिया