अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा मकवानपुरका उपसभापति टाकाराज थापा पदबाट हटाइए

रास्वपा मकवानपुरका उपसभापति टाकाराज थापा पदबाट हटाइए


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति टाकाराज थापा ‘सुरेश’ नियुक्तिको ६ महिना नपुग्दै पदमुक्त भएका छन्।

जिल्ला समितिले कारबाहीका लागि सिफारिस गरेपछि रास्वपा बागमती प्रदेश समितिले बिहीबार सर्वसम्मत निर्णय गर्दै थापालाई उपसभापति पदबाट हटाएको हो।

मकवानपुर जिल्ला समितिबाट प्राप्त प्रतिवेदन र प्रदेश समितिअन्तर्गतको छानबिन समितिले सिफारिस गरेको प्रतिवेदनमाथि प्रदेश समितिको पूर्ण बैठकमा छलफल भएको थियो। छलफलपछि थापालाई पदमुक्त गर्ने निर्णय गरिएको रास्वपा बागमतीले जनाएको छ।

थापालाई पदमुक्त गरिएको निर्णय केन्द्रीय संगठन विभाग र अनुशासन आयोगलाई समेत जानकारी गराउने निर्णय प्रदेश समितिले गरेको छ ।

यद्यपि, थापालाई पदमुक्त गर्नुको ठोस कारण पार्टीले सार्वजनिक गरेको छैन । जिल्ला समितिले के-कस्ता आरोप र आधारमा कारबाही सिफारिस गरेको थियो भन्ने विवरणसमेत खुलाइएको छैन ।

थापा मकवानपुर क्षेत्र नम्बर १ का रास्वपा सांसद प्रकाश गौतमको सचिवालय सदस्यसमेत हुन् ।

थापा यसअघि दुई वटा विवादमा मुछिएका थिए । गत वैशाखमा रास्वपा हेटौंडा नगर सदस्य नरहरि चौलागाईंलाई थापाले गालीगलौज गरेको भनिएको अडियो सार्वजनिक भएको थियो ।

त्यस्तै, गत भदौमा कैलाश गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अनिलप्रसाद जोशीसँग भएको थापाको विवाद पनि सार्वजनिक भएको थियो ।

गाउँपालिकाले थापाले अदालत परिसरमा जोशीलाई गालीगलौज गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै कारबाहीको माग गरेको थियो । तर, थापाले उक्त आरोपको खण्डन गर्दै आफूले जोशीलाई गालीगलौज नगरेको र ज्यान मार्ने धम्कीसमेत नदिएको दाबी गरेका थिए ।

घटनापछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएको थियो ।