काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले भूमिहीन दलित र भूमिहीन सुकुमवासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई विस्थापित गर्न खोज्नु निन्दनीय भएको बताएका हुन् ।
उनले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान तथा तथ्याङ्क सङ्कलन गरी वैकल्पिक आवासको व्यवस्था गरेपछि मात्रै व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
कांग्रेसले यसअघि नै भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान र तथ्याङ्क सङ्कलन गरेर मात्रै व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको स्मरण गराउँदै उनले सरकारले त्यसलाई बेवास्ता गरेको आरोप लगाए ।
‘व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राख्यो । अहिले हिउँदको कठ्याङ्ग्रिँदो मौसममा भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरबाट समेत हटाउन खोजिँदैछ । यो निन्दनीय छ,’ उनले लेखेका छन् ।
उनका अनुसार देशभर आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई पहिले जग्गाको टुङ्गो लगाएर उनीहरूको आवास सुनिश्चित गर्नुपर्छ । वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्याउने अधिकार सरकारलाई नभएको उनको भनाइ छ ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ । प्रशासनले सरकारले घरभाडाबापत उपलब्ध गराउने १५ हजार रुपैयाँ लिएर सेन्टर छाड्न भनेको छ।
आङ्देम्बेले सरकारको उक्त निर्णय संविधानप्रदत्त आवासको हकविपरीत रहेको पनि बताएका छन्। संविधानको धारा ३७ (१) ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले राज्यको दायित्व नागरिकको आश्रय खोस्ने नभई आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउने भएको बताए।
‘राज्यको जिम्मेवारी नागरिकको आश्रय खोस्ने होइन, आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउने हो,’ उनले भनेका छन् ।
उनले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक तथा दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।



प्रतिक्रिया