अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नास्टका कर्मचारीको विरोध, अध्यादेश र नियमावली खारेज गर्न माग

नास्टका कर्मचारीको विरोध, अध्यादेश र नियमावली खारेज गर्न माग


काठमाडौं-नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीले नयाँ अध्यादेश तथा नियमावलीप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्।

ऐन तथा नियमावली निर्माणका क्रममा सरोकारवालासँग छलफल नगरी अध्यादेश ल्याइएको र कर्मचारीका सुझावसमेत बेवास्ता गरिएको भन्दै उनीहरूले शुक्रबार नास्टको प्रांगणमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी कर्मचारीले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले यस विषयमा नैतिक जिम्मेवारी लिनुपर्ने माग गरेका छन्।

विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र त्यसअन्तर्गतको नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको बताए।

सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने र दक्ष जनशक्तिलाई पलायन हुन बाध्य पार्ने कदम स्वीकार्य नहुने उनको भनाइ थियो। अब निर्माण गरिने विज्ञान नीतिले देशको विज्ञान तथा अनुसन्धान क्षेत्रको भविष्य निर्धारण गर्नुपर्ने उनले बताए।

कर्मचारीले नास्टको अध्यादेश तथा नियमावली तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूले अध्यादेश र नियमावलीका नाममा हुने मनोमानी तथा नवनियुक्त समिति सदस्यलाई समेत जानकारी नदिई निर्णय गर्ने कार्य बन्द गर्नुपर्ने बताएका छन्। साथै, संस्थामाथि मन्त्रालय र मन्त्रीबाट हुने दबाब तथा हस्तक्षेप रोक्न र सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली तथा नीति निर्माण गर्न माग गरेका छन्।

उनीहरूले संस्थाको सक्षम नेतृत्व खुला विज्ञापन र प्रतिस्पर्धाका आधारमा चयन गर्नुपर्ने, साविकको ऐनअन्तर्गत नियुक्त सबै कर्मचारीको सेवासुरक्षा सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेका छन्। कर्मचारीलाई थर्काउने, धम्क्याउने र मनोबल गिराउने कार्य बन्द गरी विश्वासमा लिएर काम गर्ने वातावरण बनाउन उनीहरूले आग्रह गरेका छन्।

त्यसैगरी, देशभित्रका दक्ष जनशक्तिलाई विदेशिन बाध्य पार्नुको सट्टा स्वदेशी प्रतिभाको सम्मान र उचित अवसर सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।

कर्मचारीले विद्यमान संरचना ध्वस्त पारेर विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्नुको सट्टा संस्थालाई थप सुदृढ बनाउनुपर्ने बताएका छन्। नयाँ संरचना निर्माणमा अनावश्यक खर्च गर्नुभन्दा नास्टका प्रयोगशालालाई सबल बनाउने र अनुसन्धानका लागि बजेट वृद्धि गर्नुपर्ने उनीहरूको जोड छ।

संस्थाको स्वायत्तता सुनिश्चित गर्दै वैज्ञानिकहरूले कुनै पनि दबाबबिना अनुसन्धान गर्न पाउने वातावरण निर्माण गर्नसमेत उनीहरूले सरकारसँग माग गरेका छन्।