काठमाडौं-पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी भ्रामक प्रचार गर्ने प्रवृत्ति रोक्न कडा कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन्।
शुक्रबार ललितपुरमा निर्वाचन आयोगले आयोजना गरेको सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै पोखरेलले एआईलाई कानुनी दायरामा ल्याएर प्रभावकारी नियमन गर्नुपर्ने बताएका हुन्।
उनले एआईबाट तयार पारिएका सामग्रीको पहिचान सहज बनाउन वाटरमार्क अनिवार्य गर्ने र त्यसको दुरुपयोग गर्नेलाई कडा जरिवानाको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
‘निर्वाचनमा पनि एआईको दुरुपयोग गरी हुने प्रचारको चुनौती छ। एआईलाई अब कानुनी रूपमा व्यवस्थित गर्दै लैजानुपर्छ,’ उनले भने, ‘वाटरमार्क राख्नेदेखि कडा जरिवाना गर्ने व्यवस्थासम्म गर्नुपर्छ।’
पोखरेलले एआईको प्रयोगबाट सिर्जना गरिएका गलत तथा भ्रामक सामग्री पहिचान गर्न अनुसन्धान केन्द्र र प्रयोगशालामार्फत परीक्षण गर्ने प्रणाली विकास गर्नुपर्ने बताए। त्यस्ता सामग्री तयार पार्न एआईको भूमिका कस्तो छ भन्ने विषयसमेत नमुना परीक्षणबाट पहिचान गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, उनले डिजिटल शिक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताए। बेलायतजस्ता विकसित देशमा पूर्वप्राथमिक तहदेखि नै डिजिटल शिक्षा दिन थालिएको उल्लेख गर्दै नेपालले पनि डिजिटल शिक्षाको प्रभावकारी नियमनका उपायबारे अध्ययन गर्नुपर्ने धारणा राखे।
पोखरेलले निर्वाचन व्यवस्थापनलाई विकेन्द्रीकरण गर्दै लैजानुपर्नेमा पनि जोड दिए। निर्वाचन शिक्षाको दायरा विस्तार गर्नुपर्ने उल्लेख गर्दै उनले निर्वाचन सुरक्षाको जिम्मेवारी सुरक्षा निकाय र राजनीतिक दलले लिनुपर्ने बताए।
उनले निर्वाचन खर्च व्यवस्थापनलाई पनि संघ, प्रदेश र स्थानीय तहसम्म विकेन्द्रित गर्नुपर्ने सुझाव दिए। उनका अनुसार निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रविधिको नियमन, निर्वाचन शिक्षा, सुरक्षा र खर्च व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ।



प्रतिक्रिया